युवा स्वरोजगार कार्यक्रम अन्र्तगत बाँकेमा थप ५ करोड ऋण लगानी प्रस्ताव, महिलालाई प्राथमिकता


नेपालगन्ज : युवा स्वरोजगार कार्यक्रम बाँकेले जिल्लामा थप रु ५ करोड सहुलियत ऋण लगानीको प्रस्ताव गरेको छ । २१ वटा सहकारीले प्रस्ताव गरेको ऋणको फाईल अध्ययन पछि केन्द्रीय स्वरोजगार कोषमा पेश गरिएको युवा स्वरोजगार कार्यक्रम बाँकेका सदस्य सचिव नितेशराज शर्माले जानकारी दिए ।

जिल्लामा २१ वटा सहकारीले सहुलियत ऋण परिचालन गर्न इच्छा व्यक्त गर्दै निवेदन दिएका छन् । त्यस मध्ये ११ वटा महिला सहकारी रहेका छन् । बाख्रापालन व्यवसाय गर्दै आउका महिला सहकारीले धेरै निवेदन दिएको शर्माले बताए । समभवत यसपटक महिला सहकारीलाई ऋण लगानी दिने कुरामा उच्च प्राथमिकता राखिनेछ । जिल्लामा महिला सहकारीहरुले बाख्रापालनका क्षेत्रमा राम्रो काम गर्दै आएका छन् । उनीहरुलाई प्रोत्साहन गर्न पनि ऋण लगानी गर्न प्राथमिकतामा राखिने सदस्य सचिव शर्माले बताए ।

केन्द्रमा पेश भएको फाईलको थप अध्ययन पछि कस्ले ऋण लगानी गर्न पाउने टुंगो लाग्छ । सरकारले २०७० सालमा युवाहरुलाई स्वरोजगार बनाउन सहुलियत ऋण उपलब्ध गराउन सुरु गरेको हो । बाँकेमा हालसम्म २२ करोड बढि लगानी गरिएको छ । ३१ वटा सहकारीले उक्त रकम युवाहरुलाई ऋण दिइरहेका छन् ।

प्रकाशित मितिः     २० माघ २०७५, आईतवार १०:५०  |