लगानीकर्ताले पत्याए बाँके, हरेक वर्ष औद्योगिकक्षेत्रमा लगानी बढ्दै


नेपालगन्ज : बाँके जिल्लामा औद्योगिक उत्पादनका क्षेत्रमा हरेक वर्ष कर्जा लगानी बढ्दै गएको छ । साविकको मध्य तथा सुदुरपश्चिमको केन्द्र मानिने बाँकेमा गत आर्थिक वर्ष २०७४ \ २०७५ मा मात्र रु १४ अर्व ६० करोड औद्योगिकक्षेत्रमा कर्जा प्रवाह भएको छ ।

बैंक तथा बित्तियक्षेत्रले आर्थिक वर्ष उक्त वर्ष बाँके जिल्लाभर रु ४६ अर्व ३६ करोड ६० लाख कर्जा प्रवाह गरेका थिए । त्यस मध्ये सबैभन्दा धेरै औद्योगिक उत्पादनका क्षेत्रमा कर्जा प्रवाह भएको थियो । अन्य रकम कृषि, सेवा, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा आर्थिक वर्ष २०७२ \ २०७३ मा रु ८ अर्व ४७ करोड बढि कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०७३ \ २०७४ मा रु १० अर्व ९५ करोड कर्जा प्रवाह भएको थियो । गत आर्थिक वर्षमा २९ प्रतिशत बढेर रु १४ अर्व ६० करोड कर्जा प्रवाह भएको हो ।


बाँके जिल्लामा रहेक वर्ष उत्पादनमुखी उद्योगहरु बढ्दै गएका छन् । लगानीकर्तालाई बाँकेले आर्कषित गरेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिबेदन अनुसार जिल्लामा उद्योगक्षेत्रमा पनि सबैभन्दा धेरै उत्पादनमुखी उद्योगमा धेरै कर्जा प्रवाह भएको देखिन्छ । गत आर्थिक वर्षमा मात्र रु ६ अर्व २५ करोड रुपैया कृषि, वन, पेय पदार्थ, गैर खाद्य बस्तु उत्पादन सम्बन्धी उद्योगमा लगानी भएको छ ।

त्यसपछि निर्माणक्षेत्रमा रु ४ अर्व ५२ करोड, पर्यटन उद्योग सेवामा रु १ अर्व ५२ करोड,धातु तथा मेसनरी सामाग्रीको उत्पादनमा रु ८२ करोड, बिद्युत, ग्याँस उत्पादनमा रु २८ करोड र सबैभन्दा कम रु ५ करोड खानी क्षेत्रमा कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभाग,आर्थिक विकास शाखा र नेपालगन्ज लगायत देशभरका क्षेत्रगत कार्यालयले बिस्तृत अध्ययन गरी प्रतिबेदन तयार पारेको हो ।

प्रकाशित मितिः     २० माघ २०७५, आईतवार १७:१३  |
error: Content is protected !!