गौरबका आयोजना कछुवा गतिमा



काठमाडौं। उच्च प्राथमिकतामा रहेका २१ आयोजनाले आर्थिक बर्षको पहिलो ६ महिनामा औषतभन्दा पनि कम खर्च गरेका छन्।  राष्ट्रिय गौरवका २१ आयोजना (मदन भण्डारी राजमार्गसमेत) ले पुस मसान्तसम्ममा विनियोजित बजेटको २८.२९ प्रतिशत अर्थात २६ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन्। यो अवधिको कूल खर्च २८.५७ प्रतिशत रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा यी आयोजनाका लागि ९१ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरिरहेका विभिन्न मन्त्रालय एवं कार्यालयहरुका अनुसार सबैभन्दा धेरै वित्तीय प्रगति पुष्पलाल (मध्यपहाडी) लोकमार्गको देखिएको छ। यो आयोजनाको वित्तीय प्रगति ८४.६८ प्रतिशत रहेको छ।  आयोजनाका लागि ५ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएकोमा अहिलेसम्ममा ४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनाले सरकारसँग थप ४ अर्ब रुपैयाँ माग गरेको छ।

काम छाडेर ठेकेदार हिँडेको मेलम्ची खानेपानी आयोजनाले त्यसअघि विनियोजित बजेटको ६७.३३ प्रतिशत खर्च भएको छ। ७० करोड ६५ लाख रुपैयाँ विनियोजन भएकोमा ठेकेदारले काम छाड्नु अघिसम्म ४७ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ।

सरकारले तीनवटा विमानस्थललाई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा सूचीकृत गरेको छ। त्यसमध्ये सबैभन्दा राम्रो प्रगति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल (दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना) को रहेको छ।

आयोजनाले ६ महिनामा विनियोजित बजेटको ४९.५ प्रतिशत खर्च गरेको छ। आयोजनाका लागि ६ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ३ अर्ब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ। पछिल्लो समय तीव्र गतिमा काम हुने आयोजनामा भैरहवा पर्दछ।

सरकारले कालिगण्डकी, कोशी र कर्णाली नदी छेवैछेउ बाटो बनाइरहेको छ। उत्तर-दक्षिण नदी करिडोर नाम दिइएको तीन आयोजनाको प्रगति उत्साहजनक छ। सम्बन्धित आयोजनाहरुका अनुसार चालु वर्षका लागि २ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ। तीनमध्ये कालीगण्डकी करिडोरका लागि थप बजेटसमेत माग गरिसकेको आयोजनाले जनाएको छ।

अड्किएको हुलाकीमा प्रगति, रेलमा उत्साह देखिएन
तराईको ‘लाइफ लाइन’ हुलाकी राजमार्गमा यो वर्ष राम्रो प्रगति देखिएको छ। वर्षको पहिलो ६ महिनामा ५४.७३ प्रतिशत देखिएको छ। तराईका विभिन्न जिल्लामा पुलसमेत निर्माण गर्ने गरी यो आयोजनाका लागि ५ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा ३ अर्ब १ करोड रुपैयाँ खर्च भइसकेको छ। अघिल्ला वर्षहरुमा पैसा खर्च नभएको भन्दै आलोचना हुने गरेको आयोजनाले योपटक उल्लेख्य प्रगति गरेको छ।

सरकारले निकै प्राथिमकता दिएको रेल तथा मोनोरेलमा भने खासै प्रगति गर्न सकेको छैन। रेल तथा मोनोरेलका लागि ४ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६२ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम विनियोजित बजेटको जम्मा १३.८२ प्रतिशत मात्रै खर्च गरेको छ।

बुढीगण्डकी मुआब्जामा सिमित, निजगढको टुंगो छैन
१२ सय मेगावाटको बुढीगण्डकी जलविद्यतु आयोजनाले मुआब्जा वितरण मात्रै गरिरहेको छ। आयोजना निर्माणको मोडालिटीसमेत टुंगो नभएको यो आयोजनाका लागि १७ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ। आयोजनाको पुँजीगत खर्च शून्य छ भने खर्च भएको रकम मुआब्जा वितरण मात्रै हो।

यसैगरी बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति पनि शून्य प्राय छ। आयोजनाले ६ महिनाको अवधिमा जम्मा ३० करोड रुपैयाँ बजेट खर्च गरेको छ। विनियोजित बजेटको तुलनामा खर्चको अनुपात २.१ प्रतिशत हो।

राष्ट्रिय गौरवका आयोजना विनियोजित बजेट पुससम्मको खर्च अनुपात
बुढीगण्डकी जलविद्युत आयोजना १७ अर्ब ९९ करोड ५ अर्ब ३ करोड

२७.९६

बबई सिँचाई आयोजना १ अर्ब २४ करोड २६ करोड ३१ लाख

२१.२२

सिक्टा सिँचाई आयोजना १ अर्ब ४९ करोड ४३ करोड ७४ लाख

२९.३५

रानी-जमरा-कुलरिया सिँचाई आयोजना २ अर्ब १५ करोड २० करोड ९३ लाख

९.७३

भेरी-बबई डाइभर्सन बहुद्देश्शीय आयोजना ६ अर्ब ९ करोड १ अर्ब ८३ करोड

२६.५२

मेलम्ची खानेपानी आयोजना ७० करोड ६५ लाख ४७ करोड ५७ लाख

६७.३३

पशुपति क्षेत्र विकास कोष ३४ करोड ८७ लाख ८ करोड ९५ लाख

२५.६७

लुम्बिनी विकास कोष ५७ करोड ७१ लाख ३८ करोड २ लाख

६५.८८

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम १ अर्ब ६९ करोड ८ करोड २६ लाख

४.८९

मदन भण्डारी राजमार्ग ४ अर्ब ५० करोड १ अर्ब ९३ करोड

४२.८९

पुष्पलाल मध्यपहाडी लोकमार्ग ५ अर्ब ५५ करोड ४ अर्ब ७० करोड

८४.६८

काठमाडौं-तराई फास्ट ट्रयाक १५ अर्ब ३९ करोड १ अर्ब ६८ करोड

१०.९२

उत्तर-दक्षिण नदी करिडोर २ अर्ब ३० करोड १ अर्ब ३१ करोड

५६.९६

हुलाकी राजमार्ग ५ अर्ब ५० करोड ३ अर्ब १ करोड

५४.७३

रेल, मोनोरेल आयोजना ४ अर्ब ५० करोड ६२ करोड २१ लाख

१३.८२

माथिल्लो तामाकोशी जलविद्युत आयोजना ५० करोड १६ करोड ६७ लाख

33.34

दक्षिण एसिया पर्यटन पूर्वाधार विकास कार्यक्रम ६ अर्ब ८३ करोड ३ अर्ब ३८ करोड

४९.५

पोखरा विमानस्थल आयोजना ६ अर्ब ८० करोड १० करोड

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना १४ अर्ब ३० करोड ३० करोड

२.१

जम्मा ९१ अर्ब ९९ करोड २६ अर्ब ३ करोड

२८.२९

प्रकाशित मितिः     २० माघ २०७५, आईतवार २०:१२  |