बाँके २१ माघ : नेपाल राष्ट्र बैंकले कृषि उत्पादन बढी हुने ५७ जिल्लालाई समेटेर आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ । जस अनुसार कृषि क्षेत्रमा बैंकहरुले आर्थिक वर्ष २०७३र०७४मा भन्दा आर्थिक वर्ष २०७४र०७५मा कृषि कर्जा बढाएका छन् ।
अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कृषि कर्जा २५ दशमलव ८ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब ६ करोड पुगेको छ । आर्थिक वर्ष २०७३र०७४मा यस्तो कर्जा ३४ दशमलव ४ प्रतिशतले बढेको थियो । कृषि क्षेत्रमा प्रवाहित कुल कर्जालाई क्षेत्रगतरुपमा तुलना गर्दा नेपालगन्ज क्षेत्रले ६ दशमलव ७ प्रतिशत ओगटेको छ । नेपालगन्ज क्षेत्र भन्नाले बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, सल्यान, जुम्ला जिल्ला पर्दछ ।
नेपालगन्ज क्षेत्रमा पनि बाँकेमा पछिल्लो तीनवटा आर्थिक वर्षमा कृषि क्षेत्रको कर्जामा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७४ र २०७५ मा मात्र कृषि क्षेत्रमा रु २ अर्व ३८ करोड ४० लाख कर्जा प्रवाह भएको थियो । यो कर्जा आर्थिक वर्ष २०७३ र २०७४ भन्दा २६ . ८ प्रतिशतले बढि हो । उक्त आर्थिक वर्षमा बाँकेमा रु १ अर्व ८७ करोड ९० लाख कर्जा प्रवाह भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२ र २०७३ मा रु १ अर्व ३८ करोड कर्जा प्रवाह भएको थियो ।
बाँकेमा सबैभन्दा बढि रु ८१ करोड ९० लाख कृषि तथा कृषिजन्य सेवामा कर्जा प्रवाह भएको छ । त्यस्तै पंछीपालनमा रु ६५ करोड ६० लाख, वन र माछापालनमा रु ३७ करोड ८० लाख, पशुपालन तथा बधशालामा रु २७ करोड ४० लाख कर्जा प्रवाह भएको छ ।
२०७५ असार मसान्तको तथ्याङ्क अनुसार देशभर बैंकहरुले तरकारी बालीमा ६ अर्ब २२ करोड रुपैयाँ, अन्न बालीमा ५ अर्ब ५३ करोड रुपैयाँ, चिया तथा कफी खेतीमा २ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वर्ष “क” “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ४ दशमलव ६ प्रतिशत मात्र रहेको छ ।
कृषि क्षेत्रमा प्रवाहित कुल कर्जालाई क्षेत्रगत रुपमा तुलना गर्दा काठमाडौं क्षेत्रको अंश २२ दशमलव ६ प्रतिशत, वीरगञ्ज क्षेत्रको २० दशमलव ९ प्रतिशत, विराटनगर क्षेत्रको १६ दशमलव ८ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको १२ दशमलव ५ प्रतिशत, पोखरा क्षेत्रको ८ दशमलव ६ प्रतिशत, जनकपुर क्षेत्रको ६ दशमलव ८ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ६ दशमलव ७ प्रतिशत तथा धनगढी क्षेत्रको ५ प्रतिशत रहेको छ ।