धेरै डुवान हुने न्युरोडकै नाली यसरी साँघुरो पारिदै छ


बाँके : नेपालगन्जको सबैभन्दा बढि डुबान हुने न्यूरोडक्षेत्रको पानी निकासका लागी नाला फराकिलो बनाउनुपर्नेमा झन् साँघुरो पारिएको
छ । शहरी विकास परियोजना अन्र्तगत ठेक्का पाएका ठेकेदारले सोमबार न्यूरोड पछाडीको नाला बनाउने क्रममा साँघुरो गरी निर्माण सुरु गरेपछि स्थानीयले असन्तुष्टि जनाएका छन् ।

मंगलबार त्यसक्षेत्रका अगुवाहरु नाला फराकिलो बनाउन माग गर्दै शहरी विकास परियोजनाको कार्यालय पुग्दैछन् । न्यूरोड, बसपार्क, गणेशपुर, घरबारीटोल समेतको पानी निकास हुने ठुलो नालालाई नै एक मिटरमा झार्ने काम भएको विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।
‘थोरै पानी पर्ने बित्तिकै यो क्षेत्र जलमग्न हुन्छ’ श्रेष्ठले भने–‘त्यसमा झन् साँघुरो नाली बनाउने हो भने अवस्था के होला ?’ श्रेष्ठले नाला फराकिलो बनाउनुपर्ने स्थानीयबासिन्दाको माग सुनुवाई गर्नुपर्ने बताउँदै भने,–‘पैसा खर्च गरिसकेपछि सरोकारवाला निकायले दिर्घकालसम्म हुने गरी काम गरोस् ।’
सबैभन्दा धेरै डुबान हुने क्षेत्रकै नाला एक मिटरमा झार्ने गरी काम सुरु भएपछि स्थानीयबासिन्दा आक्रोसित छन् । प्राविधिकहरुले बन्दै गरेको नालाबाटै पानीको निकास हुने दाबी गरेपनि पटक पटक बाढीको पिडा भोगिसकेका न्यूरोडबासीले त्यो मान्न तयार छैनन् । उनीहरुले न्यूरोड पछाडीको नामा दुई मिटरको हुनुपर्ने र त्यसमा ढक्कन लगाएर हिडडुल गर्न मिल्ने बनाउनुपर्ने आवाज उठाएका छन् । श्रेष्ठले केही वर्षका लागी नभई पछिसम्मका लागि प्रयोग गर्न मिल्ने गरी नाला बनाउन माग गरे ।

प्रकाशित मितिः     २१ माघ २०७५, सोमबार २१:४७  |