हवाईजहाजमा यात्रा नै नगरी भत्ता असुल्ने दूरसञ्चार कार्यालय घोराहीका कर्मचारी बिरुद्ध मुद्दा


नेपालगन्ज : हवाईजहाजमा यात्रा नै नगरी यात्रा गरेको भन्दै कार्यालयबाट पैसा लिने नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत तीन जना कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह बिरुद्ध मुद्दा दर्ता गरेको हो । अख्तियारका प्रवक्ता रामशरण दंगालका अनुसार कर्मचारीहरुले कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ताको दाबी गरी रकम समेत भुक्तानी लिने गरेको भन्ने व्यहोराको उजुरी परेको थियो । उक्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरी रकम भुक्तानी लिएको पाईएको आरोपपत्रमा उल्लेख छ ।

उक्त कार्य नेपाल दूरसञ्चार कम्पनीलाई हानिनोक्सानी पुर्‍याई निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मितिः     २२ माघ २०७५, मंगलवार १३:२४  |