बाँकेमा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही


नेपालगन्ज : बाँके जिल्लामा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही अवस्थामा रहेको पाईएको छ । सरकारी तथा गैरसरकारी निकायले जतिसुकै प्रोत्साहन गरेको दाबी गरे पनि जिल्लामा नत दुध उत्पादन बढ्न सकेको छ नत मासुकै उत्पादन बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२ र २०७३ यता मात्र हेर्ने हो भने दुध र मासुको उत्पादन बढ्न नसकेको देखिन्छ ।

आर्थिक वर्ष २०७२ र २०७३ मा बाँकेमा १८ हजार ६ सय ७१ मेट्रिक टन मासु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३ र २०७४ मा १८ हजार ७ सय ८० मेट्रिक टन र आर्थिक वर्ष २०७४ र २०७५ मा १८ हजार ८ सय ३१ मेट्रिक टन मासु उत्पादन भएको छ । मासु उत्पादनको बृद्धि प्रतिशत ०. ३ प्रतिशत मात्र भएको देखिन्छ । मासुमा सबैभन्दा बढि रांगा भैंसीको उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७४ र २०७५ मा रांगा भैंसीको मात्र १० हजार ९ सय ५९ मेट्रिक टन मासु उत्पादन भएको थियो । बाँकेमा रांगा र भैसी बाहेक खसी, बोका, भेडा,सुंगुर, बुंगुर, कुखुरा, हाँसको मासु उत्पादन हुने गरेको छ । बाँकेमा दुधको उत्पादन पनि बढ्न सकेको छैन ।

्आर्थिक वर्ष २०७२ र २०७३ मा बाँकेमा ४ करोड ५२ लाख ५ हजार लिटर दुध उत्पादन भएको थियो । त्यसको अर्को वर्ष २०७३ र २०७४ मा ४ करोड ५३ लाख २ हजार लिटर र आर्थिक वर्ष २०७४ र २०७५ मा ४ करोड ५३ लाख १६ हजार लिटर दुध उत्पादन भएको छ । उत्पादन बृद्धि प्रतिशत शुन्य बराबर रहेको छ । बाँके जिल्लामा दुध र मासु बाहिरबाट ल्याएर खाने गरिन्छ । यहाँ उत्पादनको अवस्थामा जहाँको त्यही छ ।

राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिबेदनमा नेपाल सरकारले लागू गरेका विभिन्न किसिमका अनुदानमूलक परियोजना लगायत पशुपंक्षीजन्य उत्पादन र उत्पादकत्व बढाउन गोठसुधार, पशुपंक्षी बीमामा दिइएको ७५ प्रतिशत अनुदान, प्राविधिक सेवाको सहज उपलव्धता एवम् वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई व्यावसायिकरुपमा पशुपंक्षी फर्महरु सञ्चालन गर्न विभिन्न किसिमका अनुदान कार्यक्रमहरु संचालन गरिएको र साथै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यावसायिक पशुपंक्षीपालन एवम् मत्स्यपालनका लागि गरेको पुनरकर्जाको व्यवस्था तथा निर्देशनात्मक कर्जा प्रवाहको व्यवस्थाको फलस्वरुप आउँदा वर्षहरुमा पशुजन्य उत्पादन वृद्धि हुने आशा गरेको छ ।

प्रकाशित मितिः     २४ माघ २०७५, बिहीबार ०७:३९  |