- महानन्द ढकाल
कस्तुरी र हामी उस्तै भयौं । आफ्नै शरीरमा भएको बिनाको वास्नाको खोजीमा कस्तुरी दिनभर भौतारिरहे जस्तै हामी पनि हाम्रा सम्भावनाहरुलाई पहिचान नगरेर यत्रतत्र छटपटाइरहेका छौं । भौतारिरहेका छौं । कोहलपुर सम्भावनाको नगरी हो । कला, साहित्य, संस्कृति, सभ्यता, खेल, मनोरन्जन, उद्योग, व्यापार, व्यवसाय, यातायात, संचार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जनशक्ति हरेकमा कोहलपुरभित्र सम्भावनै सम्भावना छ ।
कोहलपुरभित्र खेलको संभावना पनि अधिक छ । महिला क्रिकेटको नामले मात्रै पनि कोहलपुरलाई चिनाउन सक्ने अवस्था छ । महिला क्रिकेटका पिता भनेर मुलुकले लिने गरेको नाम एल.बि.क्षेत्री कोहलपरु कै हुनुहुन्छ । अन्तरराष्ट्रिय क्रिकेट मैदान कोहलपुरलाई चिनाउन सजिलो हुने अर्को नाम हो । क्रिकेट मैदानको स्तरबृद्धि गर्न सकियो र राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धाहरुलाई निरन्तरता दिन सकियो भने कोहलपुरको पहिचान स्थापित हुने कुरामा कुनै शंका छैन । मध्य तथा सूदुर पश्चिमका अधिकांश खेलहरु कोहलपुरलाई केन्द्र विन्दु मानेर खेलाउन सकिने संभावना स्पष्ट देखिन्छ । प्रचलनमा रहेका जुनसुकै खेलका लागि कोहलपुर उपयुक्त स्थान रहन सक्ने भएकाले यो संभावनालाई हामीले सम्मानित गर्न सक्नुपर्छ ।
कला साहित्यको कुरा गर्ने हो भने सामान्य किसिमको पहलबाट कोहलपुरले आपूmलाई स्थापित गर्ने तरखरमा छ । मूलुकभरिका क्रियाशील र उर्जावान साहित्यिक संस्थाहरुको अनुसन्धान गर्ने क्रममा गोरखापत्रका सम्पादक त्रिभुवन चन्द्र वाग्लेले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरलाई नेपालका सिमित क्रियाशील साहित्यिक संस्थाको सूचिमा राखेर गोरखापत्रमा लेख नै प्रकाशन गरेका थिए । कलाको क्षेत्रमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कला विभाग गठन गरी निरन्तर काम गर्दै आइरहेको छ । यही वर्ष कार्तिक महिनामा पोखरामा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भयो । तहगत रुपमा गरिएको प्रतिष्पर्धामा पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका कला विभाग प्रमुख विक्रम शिशिर प्रथम भई नगद र प्रमाणपत्र प्राप्त गर्नु भएको थियो भने क्याम्पस र विद्यालय तहका पुरस्कारहरु पनि यस क्षेत्रका कलाकारहरुले प्राप्त गर्न सफल भएका थिए ।
हामी कहाँ साहित्य र कलाका प्रतिभावान व्यक्तिहरुको कमी छैन । हामीले यो सम्भावनालाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा मात्र जोड दिन सक्यौं भने यसले एउटा उचाइ प्राप्त गर्नेछ । त्यसैगरी भाषा संस्कृतिका क्षेत्रमा हामी कहाँ यसै क्षेत्रको पुरानो थारु भाषा संस्कृतिका साथसाथै जुम्ला, कालिकोट, रुकुम, सल्यान, दैलेख, सुर्खेत, जाजरकोट हुँदै गण्डकी अञ्चलमा बोलिने भाषा र यी क्षेत्रहरुमा लोकप्रिय रहेका संस्कृतिहरु भेटाउन सकिन्छ । जसरी एउटा सुन्दर फुलवारी हुन हरेक प्रकारका पूmलहरुको आवश्यकता पर्दछ । त्यस्तै समाजको सुन्दरता पनि विभिन्न भाषा तथा संस्कृतिले दिने गर्दछ । यी भाषा संस्कृतिको पहिचान, संरक्षण र परिचालन मात्रै गर्न सक्ने हो भने पनि हामी कोहलपुरलाई छुट्टै विशेषताले स्थापित गर्न सक्छौं । हामी कहाँ कमी भनेको इच्छा शक्ति हो । हामीलाई अगाडि बढ्न नदिने भनेको परम्परावादी सोंच र मानसिक विभाजन हो ।
कोहलपुरको भविष्य पर्यटनसँग छ । कोहलपुरलाई प्रकृतिले दिनुपर्ने सबै चिज दिएको छ । पहाडको काखमा रहनु, बाँके र बर्दिया राष्ट्रिय निकुन्जको सदुपयोग गर्न सकिनु, वागेश्वरी, ठाकुरद्धारा, चिसापानी, काक्रेंविहार र रिहार जस्ता क्षेत्रहरु छोटो समयमा अवलोकन गर्न सकिनु र रारा मार्गको लागि उपयुक्त ट्रान्जिट प्वाइन्ट हुनु कोहलपुरका लागि सकारात्मक पक्ष हुन् । आन्तरिक रुपमा हेर्ने हो भने कोहलपुरको उत्तरतर्पm रहेको वन र पूर्वतर्पm रहेका डुडुवा खोला, भ्यूटावर, सृजना सामुदायिक वन, ढकेरी उद्यान, रामजानकी मन्दिर क्षेत्रका साथसाथै खड्कवार क्षेत्र र गाभर भ्यालीलाई व्यबस्थित गरी उपयोगमा ल्याउन सक्ने हो भने कोहलपुरको कायापलट हुनसक्छ ।
डुडुवा खोला जसले कोहलपुरलाई सबैभन्दा बढी सुन्दर बनाउन सक्छ । यस खोलामा ड्याम बाँधेर दोहोरो हरित पेटी बनाई झण्डै तीन किलोमिटर मात्रै भएपनि सफा पानीमा बोटिङ गर्ने ब्यवस्था मिलाउन सक्ने हो भने कोहलपुरले रुप फेर्नेछ । यो कार्य सम्पन्न गर्नु त्यति ठूलो कुरा पनि होइन । स्थानीय तहले चासो दिने हो भने दुई तीन वर्ष कै बीचमा यो कार्य सम्पन्न हुन सक्छ । त्यसैगरी कोहलपुरको उत्तरतिर रहेका वन क्षेत्रलाई व्यवस्थित चिडियाखाना, पार्किङ र पिकनिक स्पट मात्र बनाउने हो भने पनि स्थानीय पर्यटकहरुको ओइरो लाग्ने कुरामा कुनै शंका छैन ।
‘वनको कानुन कडा छ, वन सदुपयोग गर्न गाहे छ ’ भनेर पन्छिने काम भइरहेको छ । ‘वनका लागि मान्छे होइन, मान्छेका लागि वन हो ’ त्यसैगरी जनावरका लागि मान्छे होइन, मान्छेका लागि जनावर पालिनुपर्छ । यदि यो वनलाई बेलैमा व्यवस्थित नगर्ने हो भने कोहलपुर–चप्परगौडी बीचको क्षेत्र असुरक्षित त हुन्छ हुन्छ नै, त्यो भन्दा बढी कोहलपुर बजार वा चपरगौंढी बजारमा बाघले कुनै अप्रिय घटना घटायो भन्ने खबर सुन्नु पर्दाको क्षण कति दुखद बन्ला ? त्यस बेलाको अवश्था सजिलै अनुमान गर्न सकिन्छ । सम्भावित खतरालाई मध्यनजर गरी स्थानीय तहले यो वनको गुरु योजना तयार गरी सम्बन्धित निकायमा अगाडि बढाउन ढिलो गर्नु हुँदैन । सुन्दरता र सुरक्षा दुबै हिसाबले यो वनको व्यवस्थापन गर्नु जरुर छ ।
संचारका क्षेत्रमा कोहलपुरले फड्को मार्दैछ । दैनिक पत्रपत्रिकाहरु, रेडियो, टेलिभिजन, अनलाईन पत्रिका तथा साप्ताहिक र साहित्यिक पत्रिकाले कोहलपुरलाई संचारको क्षेत्रमा स्थापित गर्दैछन् । कोहलपुर टेलिभिजनलाई कोहलपुरबासी गहना हो । तर यसलाई कोहलपुरवसीले राम्रोसँग उपयोग गर्न सकिरहेका छैनन् । आप्mनै घर छेउमा रहेको टेलिभिजनमा स्थानीय तहमा के कस्ता कार्यक्रमहरु संचालन हुन सके र स्थानीय प्रतिभाहरुले कत्तिको फष्टाउने अवसर पाउन सके भन्ने कुराले बिशेष महत्व राख्दछ । यो कुरामा स्थानीय बासीहरु बिशेष जागरुक बन्नुपर्ने देखिन्छ । संचारको क्षेत्रमा हामी कहाँ ठूलो संभावना छ तर हामी सम्भावनाको खोजिमा कस्तुरी भौतारिए जस्तै यत्रतत्र भौतारिदै छौं, दौडिदैछौं ।
कोहलपुरको सानसँग जोडिएको छ कोहलपुर मेडिकल कलेज । दैनिक हजारौं मानिसहरुलाई कुनै न कुनै माध्यमबाट क्रियाशील बनाइरहेको छ यो हस्पिटलले । यो शिक्षण अस्पतालको सही सदुपयोग गर्न सकियो भने धेरैले स्वास्थ्य सुविधा पाउनुका साथसाथै थुप्रैले रोजगार पाउनेछन् । सुर्खेत, दैलेख, कालिकोट, अछाम, जाजरकोट, कैलाली, कञ्चनपुर, बर्दिया र दाङ सम्मका सेवाग्राहीहरुको लागि यो अस्पताल केन्द्रविन्दु बन्न सक्छ । जसले व्यापार र व्यवसायमा ठूलो सहयोग पुग्नेछ ।
यातायात र फोहरमैलालाई व्यवस्थित गर्दै कोहलपुर बजारक्षेत्रभित्र रहेका ‘ओपन स्पेश’हरुलाई जतिसक्दो छिटो व्यवस्थित गर्नुपर्ने जरुरी देखिन्छ । हरेक ‘ओपन स्पेश’हरुको महत्वपूर्ण व्यक्ति तथा स्थानका नामसँग जोडेर नामाकरण गरी सम्बन्धित क्षेत्रका बासिन्दाहरुलाई नै जिम्मा लगाउनु पर्दछ । रेखदेख तथा मर्मत सम्भारका लागि स्थानीय तहबाट विनियोजित गर्नु जरुरी छ । यी क्षेत्रहरुको व्यवस्थापनले कोहलपुरको सुन्दरतालाई ह्वात्तै बढाउने छ ।
कोहलपुरमा औधोगिक क्षेत्र विस्तार गर्न सकिने आधारहरु धेरै छन् । उचित स्थानको पहिचान गर्न सकियो भने लगानीकर्ताहरुको अभाव हुने देखिदैंन । व्यापार व्यवसायले पहाडी जिल्लाहरुलाई डोर्याउन सक्ने धेरै आधारहरु छन् । कोहलपुरबासीलाई सामानहरु खरिदबिक्रीका लागि नेपालगञ्ज र रुपेडिया धाउने वातावरणको अन्त्य गर्नु जरुरी छ । चप्परगौडी–सल्यान बाटो निर्माण गर्न सकियो भने व्यापार व्यवसाय फस्टाउन सक्छ ।
पछिल्लो समय कोहलपुरमा राम्रा र सुविधा सम्पन्न होटल तथा लजहरु बन्न थालेका छन् भने पारिवारिक वातावरणमा रमाउनका लागि गाभर होमस्टे र नयाँ गाउँ होमस्टेले प्राथमिकता पाउन थालेका छन् । यी क्षेत्रहरुले ठूलो संख्यामा रोजगारीलाई समेत धानेका छन् । पर्यटनका लागि होटल व्यवसाय फष्टाउनु जरुरी छ । यो पेसालाई सुरक्षित तथा मर्यादित बनाउनु पर्ने देखिन्छ । मध्य तथा सुदुर पश्चिमको प्रवेशद्धार कोहलपुर नै भएकाले पनि यो क्षेत्र होटल व्यवसायका लागि उपयुक्त र सम्भावना भएको क्षेत्र हो ।
शिक्षा क्षेत्रमा फस्टाउँदै गरेका विद्यालय तथा क्याम्पसहरुले चेतनाको स्तरलाई मजबुत गरेका छन् । समग्र जिल्लालाई हेर्ने हो भने कोहलपुर क्षेत्र अग्रपंक्तिमा नै आउँछ । यस क्षेत्रमा रहेका सरकारी तथा संस्थागत विद्यालयहरुलाई व्यवस्थित गर्दै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सकेमा कोहलपुरले आपूmलाई व्यवस्थित गर्न सक्छ र सम्भावनाहरुको सदुपयोग गर्न सक्छ ।
यत्तिका धेरै सम्भावना हुँदा पनि हामी कहाँ आप्mनोपन झल्कने केही छैन । कुनै पर्यटक तथा पाहुनालाई कोहलपुरको स्पेसल भनेर दिने र देखाउने केही छैनन् । आफन्तजनहरुलाई एक घण्टा मात्रै डुलाउने र घुमाउने स्थानहरुको समेत अभाव खट्किरहेको छ । यी अभावहरुको समाधान त्यत्तिबेला मात्रै हुने देखिन्छ, जतिबेला संभावनाहरुको सदुपयोग हुनेछ ।