नेपालगन्ज : हप्तामा एकदिन भए पनि रेष्टुरेण्टमा गएर खानपिन गरेकै छ । नजिक होस् चाहे टाडाको पर्यटकियक्षेत्र, घुमघाम भएकै छ । नेपालगन्जमा बद्लिएको संस्कृतिको उदाहरण हुन, यि दुई कुरा । वर्षैपिच्छे कुनै न कुनै क्षेत्रमा परिवर्तन भइरहेको छ ।
तर गिफ्ट दिने संस्कृतिको विकास भन हुन नसकेको दुःखेसोको यहाँ व्यवसायीले गरेका छन् । अन्त कुनै ठाउँबाट गिफ्ट खरिद गरेर आदानप्रदान गरिन्छ भने त भन्नु केही छैन तर नेपालगन्जका गिफ्ट पसलले ग्राहक पाउन सकेका छैनन् । त्यसैले उनीहरु भन्छन्,–‘गिफ्ट लिने मात्र देखिए । दिने कमै भए । यस कारणले हाम्रो व्यवसाय फस्टाउन सकेन ।’

न्यूरोडस्थित बिभाज गिफट् पसल सन्चालन भएको १५ वर्ष भयो । पश्चिमक्षेत्रकै ठुलो बजारमा राम्रै सम्भावना देखेर नविन क्षेत्रीले यसमा लगानी गरेका थिए । तर वर्षौ बित्दा समेत गिफ्ट आईटम बिक्रीमा उल्लेखिय प्रगति भएको उनले महसुस गरेका छैनन् । ‘बजार त्यति राम्रै देखिएन । गिफ्ट किन्नेहरु कमै देखिए ।’ क्षेत्रीले भने –‘यहाँ राम्रो पाईदैन त्यही भएर ग्राहक आएनन् भनौं भने हाम्रोमा काठमाण्डौंमा पाईने सबै सामाग्री पाईन्छ ।’

बिभाजका क्षेत्रीको जस्तै अनुभव त्रिभुवनचोकस्थित मोनालिसा गिफ्ट एण्ड कस्मेटिकका सन्चालक मनोज शाहको पनि छ । नेपालगन्ज जस्तो बजारमा गिफ्ट व्यवसायको सम्भावना धेरै भए पनि अहिले फस्टाउन नसकेको बताए । अहिले भ्यालेन्टाईन डेको सप्ताह चलिरहेको छ । गत वर्ष भन्दा यसपटक व्यवसाय झन् खस्किएको बिभाज गिफ्ट पसलका सन्चालक क्षेत्रीले बताए । गिफ्ट पसल चलाएरकाहरुले अरु सामान पनि बिक्री गर्नुपर्ने अवस्था छ । सेन्ट, ब्याग जस्ता सामान बिक्री नगरी व्यवसाय नै चल्दैन ।