मापदण्ड पुरा नगर्ने नेपालगन्जका सातवटा पानी उद्योग बन्द


नेपालगन्ज :  मापदण्ड बिपरित पानी उत्पादन गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले यहाँका सातवटा पानी उद्योग शिल गरेको छ । नेपालगन्जमा सन्चालित सञ्जीवनी, पन्चकन्या, न्यू लहरी, श्री जल, न्यू सगरमाथा, राप्ती, वाइके पानी उद्योग बन्द छन् ।
शिल गरिएको मध्ये न्यू सगरमाथाले मापदण्ड पुरा गरेपनि फेरी सन्चालन भएको छ ।

नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषयलाई लापरवाही गरेको पाईएपछि ती उद्योग शिल गरी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रमुख ज्योत्सना श्रेष्ठले बताईन । शिल गरिएका उद्योगले मापदण्ड पुरा गरे सन्चालन हुन सक्ने उनले  बताईन ।
शिल गरिएका उद्योगले पानीको प्रशोधन तथा व्यवस्थापनमा लापरवाही गरेको आरोप लगाईएको छ ।

पानी उद्योग संघ बाँकेका अध्यक्ष बिनय श्रेष्ठले एकैपटक यतिका धेरै उद्योग शिल गरिएपछि व्यवसायीको लगानी र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएको बताए । मापदण्ड पुरा नगर्ने उद्योगको काम रोकेर मापदण्ड पुरा गर्ने अवसर दिनुपर्नेमा एकैपटक शिल गरेर कानुनी कारवाही गरिएको श्रेष्ठले बताए । उनले पानी उत्पादनको सिजन आइरहेकाले व्यवसायीलाई मापदण्ड पुरा गरेपछि सन्चालन अनुमति दिन आग्रह गरेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रमुख श्रेष्ठले मापदण्ड पुरा गरेका उद्योगलाई आफुहरुले केही नगरेको बताईन । ‘स्वास्थ्य जस्तो बिषयमा लापरवाही गर्न दिने कुरा भएन । हामी कानुन अनुसार कारवाही गर्छौ ’–श्रेष्ठले भनिन् ।

प्रकाशित मितिः     १ फाल्गुन २०७५, बुधबार १८:०४  |