म्याद गुजारेका बाँकेका उद्योगको नविकरणको टुङ्गो लगाईदिन हारगुहार


नेपालगन्ज : नविकरण म्याद गुज्रिएको दुई वर्ष पुगेपछि बाँकेका दुई सय बढि उद्योगका उद्योगीहरु यतिबेला हैरान छन् । बिगतमा म्याद गुजारेका उद्योगहरुलाई निश्चित समयएपछि फेरी नविकरणको समय दिइन्थ्यो । तर यसपटक नकिरण गरिएको छैन । उद्योग नविकरण नहुँदा बैंक तथा बित्तियक्षेत्रबाट आर्थिक कारोवार ठप्प भएको भन्दै उद्योगी, व्यवसायीहरुले पुन नविकरणका लागि हार गुहार गरेका छन् ।

नविकरण म्याद गुज्रिदा नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरमा रहेको सुमन ईट्टा उद्योगको आर्थिक कारोबार ठप्प छ । उद्योगको नविकरण म्याद गुज्रेको दुई वर्ष नाघिसकेको छ । उद्योग नविकरणका लागि पहल गरिदिन सञ्चालक सुमन अलि दैनिक रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा धाईरहेका छन् । तर, कार्यालयले नविकरण गरिदिने परिपत्र केन्द्रबाट नआएको भन्दै उनलाई फर्काइरहेको छ । करिव एक करोड रुपैयाँको लागतमा २०६४÷६५ मा सुमनले श्रीमती फातमा बानोको नामबाट उद्योग सञ्चालनमा ल्याएका थिए ।
नविकरण म्याद गुज्रिएको दुई वर्ष पुगेपछि जब बैंकले आर्थिक कारोबार बन्द गरिदियो, तब उनी छांगाबाट खसेझै भएर कार्यालयमा धाउन थाले । ‘बैंकले पैसा दिइरहेको छैन, काम गर्ने मजदुरलाई ज्याला दिन पाएको छैन, ऋण सापटी गरेर अहिले सम्म काम चलाएको छु, अब त उद्योग चलाउनै नसक्ने स्थितीमा पुगेको छु,’ सुमनले नागरिकसँग भने । उद्योग नविकरण नहुँदा बैंकमा जम्मा भएको पैसा समेत निकाल्न नपाएको उनी बताउँछन् ।

उनी जस्तै अर्का ईट्टा उद्योगी रज्जब अलि पनि तनावमा छन् । रज्जबले सञ्चालन गर्दै आएको किसान ईट्टा उद्योगको एक वर्षदेखी नविकरण म्याद गुज्रिसकेको छ । उद्योग नविकरण गराउन उनी जिल्लादेखी मन्त्रालयसम्म धेरै पटक धाए । तरपनि अहिलेसम्म उद्योग नविकरण गराउन सकेनन् । आर्थिक कारोबार डामाडोल हुँदा उद्योग बन्द हुने अवस्थामा पुगिसकेको छ । सुमन र रज्जब जस्ता जिल्लाका तमाम उद्योगी, ब्यवसायीले यतिखेर नविकरणको समस्या नराम्रोसँग झेलिरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अनुसार नविकरण हुन छुटेका यस्ता उद्योगहरु करिव एक सयको हाराहारीमा छन् । नियम अनुसार दुई÷दुई वर्षको फरकमा प्राईभेट उद्योग नविकरण हुने ब्यवस्था छ । तर, लामो समय भईसक्दा पनि उद्योग र वाणिज्य कार्यालयले नविकरण गरिदिएका छैनन् । उद्योग कार्यालयले नविकरण वापत न्युनतम ६ सयदेखी अधिकतम १५ हजार रुपैयाँ सम्म नविकरण शुल्क उठाउँछ । उद्योग, ब्यवसाय नविकरण नहुँदा राज्यलाई ठुलो रकम राजश्व घाटा भईरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका निमित्त प्रमुख दुर्गा ओली केन्द्रबाट परिपत्र नआउँदा समस्या भएको बताउँछिन् । ‘म्याद गुज्रेपछि केही उद्योग सञ्चालकहरु आईरहन्छन्, हामीले केही गर्न सक्ने अवस्था छैन,’ उनले भनिन् ‘यस विषयमा मन्त्रीलाई पनि जानकारी गराएका छौं ।’

म्याद गुज्रेका उद्योगलाई नविकरण गरिदिन अहिलेसम्म केन्द्रबाट कुनै परिपत्र नआएको निमित्त प्रमुख ओली बताउँछिन् । कार्यालयले उद्योग दर्ता गरेपनि जनशक्ति अभावका कारण नियमन गर्न नसकेको उनको भनाई छ । ‘हामीले उद्योग स्थापनाका लागि सिफारिस मात्रै गर्न सक्छौं, नियमन गर्नका लागि जनशक्ति छैन,’ दुर्गाले भनिन् । नविकरण म्याद गुज्रेपनि उद्योगहरुले बार्षिक रुपमा कर तिरिरहेकाले ती उद्योगलाई कानुनी रुपले अवैध भन्न नमिल्ने उनको भनाई छ । ‘हामी कहाँ नविकरण नभएपनि बार्षिक रुपमा राज्यलाई कर बुझाईरहेका छन्, यिनीहरुलाई अबैध भन्न मिल्दैन,’ उनले भनिन् । उद्योग जस्तै ब्यवसाय क्षेत्रमा पनि नविकरणको समस्या विकराल बनेको छ ।

वाणिज्य कार्यालय नेपालगन्जका अनुसार करिव २ सयको हाराहारीमा त्यस्ता ब्यवसायको नविकरण म्याद गुज्रेको छ । कार्यालयमा अचेल दिनहुँ जसो ब्यवसाय नविकरणको समस्या लिएर ब्यापारीहरु आउने गरेको प्रमुख कृष्ण पौडेल बताउँछन् । ‘नविकरण म्याद गुज्रेको समस्या लिएर दिनहुँजसो मान्छेहरु आउँछन्, उनीहरुको लागि हामीले यहाँबाट केही गर्न सक्ने स्थिती छैन,’ उनले भने ‘गतवर्ष पनि यो समस्यालाई लेखेर माथी पठाएका थियौं, अहिलेसम्म समस्या समाधानका लागि नीतिगत निर्णय भएको छैन ।’

प्रकाशित मितिः     ३ फाल्गुन २०७५, शुक्रबार ०९:४९  |