बाँके : बाँके, बर्दियामा पुरानो व्यवसायिक घराना मानिने दिवाकर खनालले चौध वर्ष अमेरिका बसाई गरेर नेपालगन्ज फर्किएपछि होटल व्यवसायमा हात हालेका छन् । आईतबारबाट सन्चालनमा आएको खनाल कम्पलेक्स होटलका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनै खनालले मानसरोवर लक्षित धेरै योजनाहरु सुनाए । होटल सन्चालको प्रमुख उदेश्य मानसरोवरका तिर्थयात्रुलाई भित्राउनुरहेको उनले बताए ।
यहाँ सन्चालित होटलका लागि मानसरोवरका तिर्थयात्रीहरु सिजनल हुन । मानसरोवरका लागि उपयुक्त मानिने मौसममा मात्र उनीहरु यहाँ आउँछन् । बाँकी अन्य समयका लागि अरुनै क्षेत्रका सेवाग्राहीको खोजी गर्नुपर्छ । तर सिजनल मानिएपनि मानसरोवर तिर्थयात्रीले खर्च गर्ने रकम यहाँका होटलका लागि राम्रै आम्दानीको स्रोत बन्छ । त्यसैले होटल व्यवसायीले मानसरोवर लक्षित बिभिन्न योजनाहरु बनाइरहेका छन् । त्यसलाई कसरी अझ व्यवस्थित गर्न सकिन्छ भन्ने सोचिरहेका छन् । त्यस्तै योजना बनाउन लागिपरेका छन्, खनाल पनि ।
पछिल्लो वर्ष नेपालगन्ज मानसरोवर तिर्थाटन जाने भारतीय तिर्थयात्रीको प्रमुख रुट बनेको छ । सिजनमा दैनिक संयौ भारतीय नेपालगन्ज हुँदै मानसरोवर जाने गर्छन । नेपालगन्जबाट हवाई यातायातबाट हुम्ला र त्यहाँबाट पैदल मार्ग हुँदै तिब्बत पुग्ने गरेका छन् । सिजनको समयमा नेपालगन्जका होटलहरु भरिभराउ हुन्छन् भने प्लेन र हेलिकप्टर कम्पनीलाई यात्रु ओसार्न हम्मेहम्मे पर्छ । मानसरोवरको प्रमुख रुट बनेपछि यहाँका होटल व्यवसायी उत्साहित छन् । होटल व्यवसाय चम्किने प्रमुख आधार मानसरोवर बन्न सक्ने आशा पलाएको छ । तर ढुक्क भईहाल्ने अवस्था भने छैन । मानसरोवर जाने प्रमुख नाका काठमाण्डौं भएपनि भूकम्प पछि त्यसक्षेत्रको रुट प्रभावित भएपछि यहाँको नाका प्रयोग भएको हो । त्यहाँको रुट सुचारु भए यहाँ प्रभावित हुन सक्छ ।
सबैभन्दा छोटो रुट नेपालगन्ज पर्ने भएपनि यहाँका पूर्वाधार विकासको लागि धेरै काम गर्न बाँकी छ । पछिल्लो समय होटल व्यवसायीहरु मानसरोवर रुटलाई स्थायी बनाउन पहल गरिरहेका छन् । मार्केटिङ्गमा बिशेष ध्यान दिन सुरु गरेका छन् । होटल व्यवसायमा नयाँ प्रवेशी तर उद्योग, व्यवसायका क्षेत्रमा पहिलेदेखि नै सक्रिय दिवाकर खनालले मानसरोवर रुटलाई स्थायी बनाउन आक्रमक मार्केटिङ्ग पोलिसी अपनाउनुपर्ने बताउँछन् । उनले त मानसरोवर रहेको चिन तर्फका ट्राभल एजेन्सीसंग पनि सम्पर्क बढाए नेपालगन्जबाटै हेलिकप्टर स्ट्याण्डबाई गर्न सकिने योजना सुनाए । त्यसो गर्दा तिर्थयात्रुलाई सुविधा पनि हुने र छिटोछरितो मानसरोवर दर्शन गर्न सकिने उनको भनाई । ‘सुविधा दिन सकियो भने मानिसहरु धेरै पैसा दिन तयार हुन्छन् । हामी त्यो तयारी गर्दैछौं ।’– खनालले भने । मानसरोवर रुटलाई स्थायी बनाउन पहल आवश्यक रहेको उनले बताए ।
खनाल मात्र नभई यहाँका सबै होटलले मानसरोवरबाट आश गरेका छन् । त्यसलाई व्यवस्थित गर्न पहल गरिरहेका छन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले मानसरोवारको तिर्थाटनका लागि पूर्वाधारको विकास आवश्यक रहेको बताउँछन् । त्यसका लागि राज्यका सबै तहलाई ध्यानार्कषण गराएको कँडेलले बताए । राज्यसंगै व्यवसायीले पनि प्रभावकारी बजार नीति अपनाइरहेको उनले बताए । नेपालको होटल व्यवस्थापनका बारेमा राम्रो जानकार बिवेक पौडेल होटल व्यवसाय फस्टाउनका लागि खरो बजार नीति आवश्यक पर्ने बताउँछन् । उनी भन्छन्,–‘यसका लागि होटल सन्चालकहरु सिरियस हुनुपर्छ ।’