लघुवित्तहरुको कर्जा लगानी १ खर्ब ७५ अर्ब नाघ्यो, ३३ लाख सेवाग्राही लाभान्वित


बैंकिङ खबरबाट/नेपालगन्ज :  नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा ७२ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । गरिबी निवारणको महत्वपुर्ण माध्यम लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेपाल राष्ट्र बैकका अधिकारीहरुले चालु आर्थिक बर्षको अन्त्य सम्ममा लघुवित्त्त वित्तीय संस्थाको संख्या ११५ वटा पुग्ने बताउदै आएका छन् । लघुवित्त कर्मि भने सरोकारवाला निकायले लघुवित्तको संख्यात्मक भन्दा पनि गुणात्मक वृद्धिमा ध्यान दिनुपर्ने बताउँछन् । लघुवित्त क्षेत्रमा पछिल्लो समय थुप्रै समस्याहरु पनि देखिएका छन् ।

एउटै सदस्य धरै लघुवित्तमा आवद्ध हुनु लघुवित्त क्षेत्रको प्रमुख समस्याको रुपमा रहेको छ । उक्त समस्याको समाधानको लागि भन्दै नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनिवार्य रुपमा कर्जा सुचना केन्द्रमा कर्जाको विवरण बुझाउनुपर्ने ब्यवस्था पनि गरेको छ । तर उक्त ब्यवस्था त्यति प्रभावकारी भएको भने  देखिदैन । समस्या समाधानको लागि भन्दै लघुवित्तहरुले शाख सुचना मार्फत सुचना लेनदेन पनि नगरेका भने हैनन् तर त्यो पनि त्यति प्रभावकारी देखिएन ।

नेपालमा लघुवित्त क्षेत्रमा समस्याहरु देखिनुका बाबजुत पनि चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा ७२ वटा लघुवित्तहरुले ३ हजार भन्दा बढी शाखा कार्यलय मार्फत् ३३ लाख ६४ हजार ५ सय १८ जना सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेका छन् । त्यस्तै १८ हजार भन्दा बढीलाई  रोजगारी पनि प्रदान गरिरहेका छन् । उक्त अवधिमा १ खर्ब ७५ अर्ब ६९ करोड ८४ लाख रुपैया भन्दा बढी विपन्न बर्गमा कर्जा लगानी गरेका लघुवित्तहरुले ६० अर्ब ८१ करोड ७५ लाख रुपैयाँ भन्दा बढी बचत संकलन गरेका छन् ।

लघुवित्तहरुले पुष मसान्त सम्ममा लगानी गरेको कुल रकम मध्ये १ खर्ब ३ अर्ब ८३ करोड ८८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणको रुपमा लिएका छन् ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७५, सोमबार १३:१६  |