नेपालगन्ज : मन्दिरा पाण्डेले पुस्तक व्यवसाय सुरु गरेको २५ वर्ष भएछ । श्रीमानसंगै मिलेर उनले त्रिवेणी पुस्तक पसल चलाइरहेकी छन् । व्यवसायी मात्र नभई व्यवसायीको नेता पनि हुन, मन्दिरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको प्रथम उपाध्यक्ष रहेकी उन व्यवसायीक्षेत्रमा आउनुभन्दा पहिले एथलेक्टिसको राष्ट्रिय खेलाडी थिईन भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर मन्दिराको जीवनको अर्को पाटो भनेको खेल पनि हो ।
‘१९ वर्षसम्म खेलक्षेत्रमा सक्रिय थिए । धेरै पटक राष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाएकी थिए ।’– मन्दिराले भनिन्,–‘मेरो लागि ती दिन सम्झनामा मात्र बाँकी छन् ।’ खेलाडी हुँदा मन्दिराले ‘केटा’हरुलाई चुनौती दिने गरेकी थिईन । ज्याभ्लिन थ्रो होस् चाहे दौड प्रतिस्पर्धा गर्न उनलाई कुनै डर लाग्दैन थियो । धेरै पटक जितेको अनुभव बटुलिसकेकी थिईन उनले ।
‘बिहे पछि खेल क्षेत्र चटक्कै बिर्सिए झैं भयो । ’ मन्दिराले भनिन्–‘ व्यापारतिर लागियो ।’ आज उमेरले ४४ पुगिन मन्दिरा । तर शरिरलाई फिट राख्न कन्जुस्याई गरेकी छैनन् । संगैका साथी बुढो देखिदै गर्दा उनी भने फिट छन् । भन्छिन्,–‘खेलक्षेत्रमा लाग्दा देखिनै मैले स्वास्थ्यमा ध्यान दिन्थे ।’
खानपिन, योगामा ध्यान पुर्याएकै कारण मन्दिरा ‘हेल्थी’ छन् । स्वास्थ्य सबैभन्दा ठुलो कुरा भएकाले त्यसमा कहिल्यै सम्झौता नगर्न उनको सुझाव छ । ‘स्वास्थ्य ठिक भएन ब्यापार गर्ने ?’ मन्दिरा भन्छिन्,–‘ स्वास्थ्य राम्रो छैन भने कसरी व्यापार गर्न सकिन्छ र ?’ मन्दिरालाई दुध, दही भन्दा मासु राम्रो लाग्छ । खसीको मासु हप्तामा जति पटक भए पनि नाई हुन्न । सब्जीमा पाकेको फर्सीको तरकारी खास लाग्छ रे । उनी भन्छिन्,–‘अरुलाई कस्तो लाग्छ तर मलाई किन हो किन त्यो असाध्यै राम्रो लाग्छ ।’ खानासंगै योगामा पनि उनले ध्यान दिएकी छन् ।