नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसायीक सम्बन्ध बढाउन जोड


बाँके : नेपालगन्ज र बाग्लुङ्ग जिल्लाबीच व्यवसायीक सम्वन्ध बढाउनुपर्नेमा जोड दिईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार नेपालगन्जमा बाग्लुङ्गका महिला उद्यमीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

अहिले पनि दुबै क्षेत्रबीच व्यवसायीक सम्बन्ध भएपनि त्यसलाई नयाँ उचाई दिन बजार बिस्तारका काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । उनले भने,–‘अहिले जे जस्तो सम्बन्ध छ त्यसलाई थप सक्रिय बनाउने तर्फ लागौं ।’
बाग्लुङ्गका महिला उद्यमीलाई स्वागत गर्न पाउँदा खुःसी लागेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । कार्यक्रममा बोल्दै बैश्यले भने,–‘महिला उद्यमीहरु एक जिल्लाबाट अर्को जिल्लामा व्यापार व्यवसायका बारेमा निरिक्षण गर्ने कुराले पनि महिलाहरु उद्यममा अगाडी बढेको स्पष्ट पारेको छ ।’ अध्यक्ष बैश्यले उद्यमका क्षेत्रमा महिलालाई अगाडी बढाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठले नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसाय बिस्तारका लागि बिगतमा भएका सक्रियतालाई निरन्तरता दिनुपर्नेमा जोड दिईन । कार्यक्रममा बोल्दै बाग्लुङ्ग महिला उद्यम समूहकी संयोजक भावना क्षेत्रीले दुबै क्षेत्रको उद्योग, व्यवसायको अनुभव साटासाटले धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताएकी थिईन । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, महासचिव अजय टण्डन, पूर्व उपाध्यक्ष कपिल प्रसाद अधिकारी लगायतको सहभागिता थियो । नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता संघको महिला उद्यम विकास व्यवस्थापन उपसमिति संयोजक रमारानी बैश्यले गरेकी थिईन ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७५, शनिबार १८:५२  |