नेपालगन्ज : बाँकेको होटल तथा सेवा क्षेत्रमा लगानीको आर्कषण उल्लेखिय मात्रामा बढेको छ । पछिल्लो तीन वर्षयताको तथ्यांकलाई मात्र हेर्ने हो भनेपनि यहाँ लगानी उच्च गतीमा भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा २०७४ र २०७५ मा होटल तथा सेवा जस्ता क्षेत्रमा रु दुई अर्व १३ करोड ६० लाख कर्जा लगानी भएको छ । जबकी त्यसअघिको आर्थिक वर्ष २०७३ र २०७४ मा रु १ अर्व ५२ करोड ५० लाख पर्यटन तथा सेवा क्षेत्रमा कर्जा लगानी भएको पाईन्छ । आर्थिक वर्ष २०७२ र २०७३ मा रु झण्डै एक अर्व कर्जा लगानी भएको थियो ।
बाँके जिल्ला राजधानी काठमाण्डौं पछि पर्यटन तथा सेवा उद्योगमा कर्जा प्रवाह धेरै हुने पोखरा र बिरगन्जलाई पछ्याउने जिल्लामा परेको छ । यहाँ पाँच तारे होटलसम्म सन्चालनमा छन् । साना ठुला होटल तथा सेवा उद्योग सन्चालनमा रहेका छन् । राष्ट्र बैंककै तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा मात्र ४७ पर्यटक राख्न मिल्ने होटल खुलेका थिए । आर्थिक वर्ष २०७३ र २०७४ मा ४३ र २०७२र २०७३ मा ३६ वटा होटल स्थापना भएका थिए ।
बाँके जिल्ला पश्चिम नेपालका पर्यटकस्थलको मात्र नभई प्रशिद्ध मानसरोवर धार्मिक यात्राका लागि पनि ‘ट्रान्जिट’ हो । यही कारणले गर्दा पनि बाँकेको नेपालगन्ज र कोहलपुरमा पर्यटन तथा सेवा उद्योगका क्षेत्रमा कर्जा प्रवाह बढ्दै छ । समग्रमा देशभर पर्यटन क्षेत्रमा होटल व्यवसाय विस्तार हुँदै गएको, उर्जा आपूर्तिमा सुधार आएको तथा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने वातावरण विकास हुँदै गएको सन्दर्भमा आगामी वर्ष पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।