नेपालगन्ज : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जका उद्योगी राजेश मास्के निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न महासंघको केन्द्रीय वार्षिक साधारणसभा तथा अधिवेशनले देवराज तामाङ्गलाई अध्यक्षमा चयन गर्दै मास्केलाई केन्द्रीय सदस्यमा बनाएको हो ।
मास्के नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष पनि हुन । उनी लामो समयदेखि औद्योगिक क्षेत्रका उद्योगहरुको हकहितको मुद्दा उठाउँदै आएका उद्योगी हुन । मास्के लगायतको यहाँका उद्योगीहरुको टोलीले नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलालाई भेटेर नेपालगन्ज औद्योगिक क्षेत्रको स्तोरन्नतीको मुद्दा उठाएको छ ।
नेपालगन्ज औद्यागिक क्षेत्र उद्योग संघकी महासचिव दिला शाहका अनुसार औद्योगिक क्षेत्र भित्रको सडक मर्मत, सभा हल निर्माण लगायतका बिषयमा महाप्रबन्धक सिटौलासंग कुराकानी भएको छ । ‘महाप्रबन्धक औद्योगिक क्षेत्रको व्यवस्थापनका बिषयमा निकै अनुभवी हुनुहुन्छ । हामीले उठाएका मुद्दा समाधानका लागि उहाँका सकारात्मक देखिनुभयो ।’– महासचिव शाहले भनिन् ।
सन् १९७३ मा स्थापना भएको नेपालगन्ज औद्योगिक क्षेत्र दुई सय ३३ रोपनीमा फैलिएको छ । तीस वटा उद्योगहरु चालु अवस्थामा रहेका
छन् ।