नेपालगन्जको प्रशोधित जडिवुटी युरोप र अमेरिकी बजारमा


  • कमल डाँगी

बाँके २३ फाल्गुण : नेपालगन्जका उद्योगमा प्रशोधन भएको जडिबुटी युरोप र अमेरिकी बजार बिक्री हुन थालेको छ । जडिबुटीको कच्चा पदार्थ मात्र विदेशमा निर्यात हुँदै गर्दै आएका यहाँका व्यवसायीले ठुलो लगानीमा उद्योग सन्चालन गरी त्यसबाट प्रशोधन गरिएको जडिबुटी युरोप र अमेरिकी बजारमा बिक्री गरिरहेका छन् ।

नेपाल जडिबुटी व्यवसायी महासघका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा अमला पाउडर एक हजार २० किलोग्राम, अश्वगन्धा पाउडर चार हजार ६ सय किलोग्राम र सितल चिनी पाउडर एक हजार २० किलोग्राम इटली, जर्मन र फ्रान्समा निर्यात भएको थियो । चालु आर्थिक वर्ष २०७५ र २०७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५ सय किलोग्राम अमेरिकामा निर्यात भएको छ ।

नेपालगन्ज जडिबुटी कारोवार हुने प्रमुख क्षेत्र पर्दछ । कर्णाली प्रदेश लगायतका हिमाली र पहाडी जिल्लामा उत्पादन भएको कच्चा पदार्थ यहाँ भण्डारण गरी निर्यात गरिन्छ । कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ हुने अवस्था नदेखेपछि उद्योगीहरुले प्रशोधन गरेर बिक्री गर्न थालेका हुन । यहाँबाट प्रमुखरुपमा भारतमा जबिडुटी निर्यात गरिन्छ । अहिले युरोप र अमेरिकामा बजार खोज्ने काम भइरहेको छ । प्रशोधन गरी भारत बाहेक तेस्रो मुलुकमा बिक्री भइरहेको जडिबुटीको आकार भने प्रारम्भीक चरणकै रहेको उद्योगीहरुको भनाई छ ।


‘नेपालगन्जमा प्रशोधन भएको जडिबुटीले युरोप र अमेरिकी बजारमा स्थान पाउनु अत्यन्त राम्रो कुरा हो ।’ तेस्रो मुलुकमा समेत जडिबुटी निर्यात गर्ने प्रमुख निर्यातकर्ता रविन्द्रनाथ शुक्ला भन्छन्,–‘तर यसको आकार बढाउन र यो बजारलाई स्थायी बनाउन स्वंय व्यवसायी र सरकारका तर्फबाट धेरे गर्न बाँकी छ ।’ सरकारका तर्फबाट प्रशोधन गरी निर्यात गरिने जडिबुटीमा लगाउने प्रशासनिक झण्झट अन्त्य गर्ने हो भने यसको आकार बढ्ने शुक्लाको भनाई छ । ‘त्यसबाहेक गुणस्तरका बिषयलाई हामीले अझ महत्व दिनुपर्छ । ताकी युरोप र अमेरिकी बजारमा यहाँको जडिबुटी खास हो भन्ने पहिचान प्राप्त होस् ।’– उनले भने ।
कच्चा पदार्थ बिक्री गरेर मात्र नेपालको जडिबुटी बजारले राम्रो मुल्य पाउन नसकेपछि प्रशोधन नै गर्ने गरी बाँकेका उद्योगीहरुले ठुलो लगानीमा उद्योग खोलेका छन् । सत्यम इन्टरनेशनल, बाहुवली हर्वल, हिमालय हर्वल जस्ता उद्योगले प्रशोधनको गरेर जडिबुटी बिक्री गर्दै आएका छन् । सरकारका तर्फबाट पनि कच्चा पदार्थ मात्र बिक्री गर्ने भन्दा प्रशोधन गरेर जडिबुटी बिक्री गरिने भन्ने बिषयलाई प्राथमिकता दिएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बरिष्ठ जडिबुटी व्यवसायी शुक्ला बताउँछन् ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७५, बिहीबार १५:१५  |
error: Content is protected !!