नेपालगन्ज : भारतले आफ्नो प्लान्ट क्वारेन्टाईनले सूचिमा समावेश नगरेपछि ७७ प्रकारका नेपाली जडिवुटी निर्यात हुन नसकी नेपालगन्जमा रहेका व्यवसायीको गोदामै थन्काएका छन् । बिगत पाँच महिनादेखि झण्डै तीन हजार मेट्रिक टन जडिवुटी निर्यात हुन नसकेको जडिबुटीको प्रमुख निर्यातकर्ता सत्यम इन्टरनेशनलका प्रमुख रविन्द्रनाथ शुक्लले बताए । ‘त्यसै पनि पहिलेदेखि नै जडिबुटी निर्यातमा अनेकन झण्झट व्यहोर्नुपरेको थियो ।’ शुक्लले भने,‘अहिले त झन् जडिवुटी निर्यात नै नगर्ने अवस्था आयो ।’ अहिले ७७ प्रकारका जडिबुटी गोदामै थन्किएको र पहाडी जिल्लामा संकलनको काम समेत रोकिएको छ ।
भारत सरकारले आफ्नो भन्सारमा ईन्टरनेट मार्फत काम सुरुगरेपछि जडिबुटी निर्यात ठप्प भएको हो । इन्टरनेट सिस्टममा नेपालबाट निर्यात हुने महत्वपुर्ण जडिबुटी सुचिकृत नै छैनन् । सूचिकृत जम्मा २६ प्रकारका जडिबुटीमात्र निर्यात गर्न पाइरहेको जडिबुटी क्षेत्रका अगुवा व्यवसायी सन्जय जैनले बताए । उनले भने,–‘जुन जडिबुटी सबैभन्दा धेरै निर्यात हुन्थ्यो त्यही रोक्का भएको छ ।’
जडिबुटी सूचिकृतका लागि पहल गरिदिन सरकारसंग व्यवसायीहरुले माग गरेका छन् । हरेक निकायमा व्यवसायीहरु पुगे पनि ७७ प्रकारका जडिबुटी कहिले निर्यात गर्न पाइने हो भन्ने टुङ्गो नभएको नेपाल जडिबुटी व्यवसायी महासंघका कार्यालय प्रमुख पुष्कर खरेलले बताए ।