नेपालगन्ज : देशकै प्रतिष्ठित औद्योगिक समूह जय अम्बे स्टील्स प्रालिले आगामी बैशाखबाट उत्पादन शुरु गर्ने गरी बाँकेको जानकी गाउँपालिकामा उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ । चुक्ता पुँजी रु ४ अर्व १४ करोडमा जय अम्बेले स्टील उद्योग खोल्न लागेको हो ।
रुपन्देही पछि बाँके जिल्लामा अम्बेले दोस्रो स्टील्स उद्योगमा लगानी बिस्तार गरेको उद्योग बिभागले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा भित्रिएका उद्योग मध्ये सबैभन्दा ठुलो उद्योग जय अम्बे स्टील्स् नै हो । उसले पूर्णरुपमा उत्पादन शुरु गरे ३ सय ६० जना रोजगारी पाउने छन् ।
अम्बेले बाँकेमा उद्योग सन्चालनका लागि उद्योग बिभागबाट २०७४ असोज २ गते स्वीकृती पाएको थियो । स्वीकृती पाएपछि पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘अवको केही महिनामै पुर्वाधार निर्माणको काम सकिन्छ । त्यसपछि यहीबाट जय अम्बेको स्टील्स् ब्राण्डहरु उत्पादन शुरु हुन्छ ।’– उद्योग स्रोतले भन्यो ।
अम्बेले टिएमडी छड, बिभिन्न वायरहरु उत्पादन गर्दै आएको छ ।
पश्चिम क्षेत्रको बजारलाई लक्षित गरी बाँकेमा स्टील उद्योग खोल्ने क्रम बढेको छ । सगरमाथा स्टील उद्योगले त उत्पादन समेत शुरु गरिसकेको छ । यहाँ नै स्टील उत्पादन हुनेपछि ग्राहकहरुले सस्तो मुल्यम पाउने अपेक्षा गरेका छन् । ढुवानी लागत कम हुने छ भने सेवाग्राहीलाई यसले राहात दिने अपेक्षा गरिएको छ ।
पश्चिम क्षेत्रको बजारलाई हेरेर जय अम्बेले बाँकेमा उद्योग सन्चालन गर्नु अत्यन्त खुसीको कुरा भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । लगानी बिस्तारसंगै व्यवसायीक सुनिश्चित गर्न राज्यपक्ष लाग्नुपर्ने उनले जोडदार माग गरे । बैश्यले भने,–‘बाँकेमा लगानीकर्ताहरुको आर्कषण देखिएको छ । अब हामी सबै मिलेर उद्योगमैत्री वातावरण बनाउन तर्फ लाग्नुपर्छ ।’