निर्माण सामग्रीमै विशिष्टीकृत पञ्चकन्या समूह


पञ्चकन्या समूह : निर्माण सामग्रीमै विशिष्टीकृत

प्रेमबहादुर श्रेष्ठ
अध्यक्ष
पञ्चकन्या समूह

पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ ।

पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ प्रमाणपत्र र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गर्ने देशकै पहिलो स्टील कम्पनी हो । नेपाल गुणस्तर विभागले प्रदान गर्ने एनएस अवार्ड पनि सबैभन्दा पहिले सन् १९९९ मा यसै समूहको पञ्चकन्या आइरनले पाएको थियो । साथै, यही अवार्ड सन् २००८ मा पञ्चकन्या प्लाष्टिकले पाएको थियो । त्यस्तै, सन् २०१२ मा पञ्चकन्या प्लाष्टले पनि यो अवार्ड पायो । समूहले ११ वर्षअघि नै भवन तथा संरचना निर्माणमा चाहिने सिमेण्ट–कङ्क्रिटको मिश्रणलाई तयारी अवस्थामा निर्माणस्थल पुर्‍याउने र प्रयोग गर्ने कामको थालनी गरेको हो ।

अहिले यस्तो सेवा अरूले पनि दिन्छन् तर रेडिमिक्स भनेपछि सबैभन्दा पहिले पञ्चकन्या समूहकै नाम आउँछ । समूहले निर्माणसँग सम्बन्धित बिटुमिन एण्ड ब्यारेल, वायर, पाइप तथा फिटिङ, झ्याल, ढोका, पार्टिशन, फर्निचरलगायत सामग्री उत्पादन गर्छ । समूहका रेडिमिक्स कङ्क्रिट, स्टेनलेश स्टील ट्याङ्की, एग्रिगे्रट्स र फर्निचरका पाँच उद्योग काठमाडौंमै छन् ।

समूहले अन्तरराष्ट्रिय व्यापार, औद्योगिक उत्पादन, निर्माण तथा उर्जा र बैङ्कमा लगानी गरेको छ । समूहले उत्पादन नगर्ने तर निर्माण परियोजनालाई चाहिने सामग्री भने आयात गरी विक्रीवितरण गर्छ । यसका लागि समूहअन्तर्गत पाँच कम्पनी छन्, जसलाई समूहको ‘ट्रेडिङ विङ्ग’ भनिन्छ । एउटै छानामुनिबाट सम्पूर्ण निर्माण सामग्री उपलब्ध गराउन समूहले विङ सञ्चालनमा ल्याएको हो । समूहले ह्याम्स अस्पताल, काभ्रेको मल्पी इण्टरनेशनल स्कूल, हाउजिङ र निर्माण कम्पनीमा लगानी विस्तार गरेको छ ।

ट्रेडिङ विङ्ग
सन् १९८१ मा स्थापना भएको तेज कन्ष्ट्रक्शन प्रालि पञ्चकन्या समूहको ट्रेडिङ विङ्गअन्तर्गतको पहिलो कम्पनी हो । यसले पूर्वाधार निर्माणलाई चाहिने ठूला मेशिन आयात तथा विक्री गर्छ । ठूला मेशिन भनेका डोजर, एस्क्याभेटर, मिक्श्चर, क्रेनलगायत हेभी इक्वीपमेण्ट हुन् । समूहले जापान, थाइल्याण्ड, भारत र सिङ्गापुरबाट यस्ता उपकरण आयात गरेर स्वदेशी बजारमा विक्रीवितरण गर्दछ ।

पाका ओभरसिज प्रालि पञ्चकन्या समूहले स्थापना गरेको दोस्रो ट्रेडिङ कम्पनी हो । सन् १९८६ मा स्थापना भएको पाका ओभरसिजले थाइल्याण्ड, ताइवान, सिङ्गापुर, बेलायत र भारतबाट प्लाष्टिकका फर्निचर आयात गर्छ र केही स्वदेशी वस्तु निर्यात गर्छ । त्यसबाहेक पनि समूहले कोल्ड वेल्डिङलाई आवश्यक सामग्री आयात गर्छ ।

समूहले सन् १९९२ मा स्थापना गरेको अर्को ट्रेडिङ कम्पनी पेक्जिम इण्टरनेशनल प्रालि हो । पेक्सिम इण्टरनेशनलले सिमेण्ट, बिटुमिन, ग्रान्युल्स र रेजिन आयात गरेर नेपालमा विक्रीवितरण गर्छ । पेक्सिमले भारत, थाइल्याण्ड, जर्मनी, दक्षिण कोरियाबाट ती वस्तु आयात गरेर नेपालमा विक्रीवितरण गर्छ ।

पञ्चकन्या समूहको अर्को भगिनी संस्था हो, उज्ज्वल ट्रेडिङ सेण्टर । सन् १९९९ मा स्थापित उज्ज्वल ट्रेडिङ सेण्टरमार्फत विभिन्न किसिमका रासायनिक पदार्थ, उद्योगका लागि आवश्यक कच्चापदार्थ, ≈वाइट सिमेण्ट तथा खियाप्रतिरोधक रसायन आयात भइरहेको छ । कम्पनीले यस्ता वस्तुहरू भारत, चीन, मलेशिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र इटलीबाट आयात गर्छ ।

ट्रेडिङ विङ्गअन्तर्गत स्थापना भएको सबैभन्दा पछिल्लो कम्पनी एक्सप्लोर इण्टरनेशनल प्रालि हो । सन् २००९ मा स्थापना भएको एक्सप्लोरले विश्वका धेरै देशबाट लाइट र लाइटिङसँग सम्बन्धित गुणस्तरीय सामग्री आयात गर्छ । कम्पनीले ईआई बोड, मेटल पेण्ट आयात गरेर नेपालभर विक्रीवितरण गर्दै आएको छ ।

पञ्चकन्या समूहको इतिहास
पञ्चकन्या समूहका सस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले १७ वर्षको उमेरमा सरकारी जागीरको अवसर छाडेर व्यावसायिक यात्रा आरम्भ गरेका हुन् । उनले त्यसबेला इलामको फिक्कलमा आलु उत्पादन गर्ने फार्म स्थापना गरेका थिए । त्यो फार्म असफल भएपछि झापा आएर चामल तथा अन्य वस्तु आयात निर्यातको व्यवसाय शुरू गरे । उक्त व्यवसायले सफलता पायो । त्यसपछि उनले २०२४ सालमा साझेदारीमा काठको व्यवसाय शुरू गरे । भाइहरूको दरिलो साथले उनको व्यवसाय सफल हुँदै गयो । त्यसपछि उनले झापामा सन् १९७१ मा पञ्चकन्या राइस मिल स्थापना गरे । यही उद्योग पञ्चकन्या समूहको कोसेढुङ्गा सावित भयो ।

सन् १९८१ मा आइरन तथा स्टीलका सामान उत्पादन गर्न रूपन्देहीको कोटिहवामा पञ्चकन्या आइरन इण्डष्ट्रिजको स्थापना भयो । त्यसबेला पश्चिम क्षेत्रमा यस्तो उद्योग थिएन त्यसैले, निर्माण सामग्री आपूर्तिको अवसर देखेर यो उद्योग खोलिएको थियो । सन् १९८० कै दशकमा समूहले निर्माण सामग्रीको उत्पादनमा विविधीकरण ल्यायो । त्यसपछि समूहले काठमाडौं उपत्यकामा उद्योग स्थापनाको योजना बनायो । अहिले यो समूहका आरएमसी (रेडिमिक्स कङ्क्रिट), स्टेनलेश स्टील ट्याङ्की, एग्रिगे्रट्स र फर्निचरका गरी पाँचओटा उद्योग काठमाडौंमा छन् । सन १९८४ मा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योगलाई पनि यसै समूहले सन् १९९४ मा किन्यो । सन् २००२ मा नेपालकै पहिलो टीएमटी वारको उत्पादन पञ्चकन्या स्टीलले शुरू गरेको थियो ।

हिन्दू संस्कृतिमा पञ्चकन्याको अर्थ पाँचजना कुमारी केटीको समूह हो । पाँच कन्याले दुर्गा, सरस्वती, लक्ष्मी, राधा र अन्नपूर्णा देवीको प्रतिनिधित्व गर्छन् । पूर्वी नेपालको कारफोकस्थित पञ्चकन्या मन्दिरमा श्रेष्ठ परिवारको गहिरो आस्था छ । त्यसैले, समूहको नाम पञ्चकन्या राखिएको हो ।

पञ्चकन्या समूहको प्रमुख व्यवसाय

पञ्चकन्या स्टील
देशको पूर्वाधार निर्माणमा पञ्चकन्या समूहको टीएमटी स्टीलको अग्रणी भूमिका छ । १९८२ मा पञ्चकन्या समूहले आइरन इण्डष्ट्रिज स्थापना गरेको थियो । सन् १९९५ मा उक्त उद्योगलाई पञ्चकन्या स्टील भनेर पुनः नामकरण गरियो । सन् २००२ देखि उद्योगले टीएमटी प्रविधिबाट स्टील उत्पादन गर्न थालेको हो । बढ्दो बजार माग र आधुनिकीरणसँगै उत्पादित छडलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन कम्पनी लागिपरेको छ । नेपालमा टीएमटी प्रविधि भिœयाउने पञ्चकन्या पहिलो उद्योग हो ।

प्राइम बिलेटबाट स्टील उत्पादन गरेकाले बजारमा सबैभन्दा राम्रो गुणस्तरको स्टीलका रूपमा परिचित भएको समूहको दाबी छ । यही गुणस्तरका कारण अन्य स्टीलभन्दा पञ्चकन्याद्वारा उत्पादित टीएमटी केही महँगो छ । टीएमटी स्टील साधारण घरदेखि ठूलाठूला जलविद्युत्, पुललगायत आयोजनामा प्रयोग भइरहेको छ । हाल समूहले स्टील उद्योगअन्तर्गत टीएमटी स्टील बार, इको बार, वायर र नेल्स उत्पादन गर्दै आएको छ । नेपालमा नेपाल गुणस्तर (एनएस) चिह्न, आईएसओ सर्टिफिकेट र आईएसओ १४००१ प्राप्त गर्ने पञ्चकन्या स्टील पहिलो कम्पनी पनि हो । समूहले सरकारबाट पहिलो एनएस अवार्ड पनि प्राप्त गरेको थियो ।

नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग
सन् १९९४ मा सरकारले निजीकरण गरेको नेपाल बिटुमिन एण्ड ब्यारेल कम्पनी पञ्चकन्या समूहले लिएको थियो । यो कम्पनीको स्थापना सन् १९८४ मा नेपाल आयल निगमले गरेको हो । सो उद्योगमा अहिले ६५ प्रतिशत शेयर यो समूहको छ भने ३० प्रतिशत शेयर सर्वसाधारणको छ । बाँकी ५ प्रतिशत शेयर उद्योगका कर्मचारीको नाममा रहेको कम्पनीले जानकारी दिएको छ ।


उद्योगले सडक कालोपत्र गर्ने अलकत्रा, ब्यारेल, ड्रम र कण्टेनर उत्पादन गर्दै आएको छ । बिटुमिन एण्ड ब्यारेल उद्योग देशभित्रै बिटुमिन उत्पादन गरेर वितरण गर्ने एक मात्र कम्पनी हो । पञ्चकन्याको बिटुमिनले देशको कुल मागको ठूलो हिस्सा ओगटेको छ । उद्योगले पहिले सामान्य किसिमको बिटुमिन मात्रै उत्पादन गर्दै आएको थियो । केही समय अघिदेखि भने इमल्सन र रबराइज बिटुमिनसमेत उत्पादन गर्न थालेको छ । गर्मी ठाउँका लागि इमल्सन बिटुमिन प्रभावकारी रहेको कम्पनीले बताएको छ । रबराइज बिटुमिन उत्पादनमा गाडीको काम नलाग्ने टायर कच्चापदार्थका रूपमा प्रयोग हुन्छ । त्यसैले, यो बिटुमिन वातावरणमैत्री रहेको उद्योगको दाबी छ । उद्योगको आधुनिक ब्यारेल प्लाण्टले विभिन्न प्रकार र क्षमताका स्टील कण्टेनर उत्पादन गर्दै आएको छ । नेपालमा १ सय ६० लिटरका ड्रम र २ सय लिटर क्षमताका ब्यारेल उत्पादन गर्ने यो एक मात्र उद्योग हो ।

नेपाल सिलिण्डर प्रालि
नेपाल सिलिण्डर प्रालिले खाना पकाउने एलपी ग्यास भर्ने सिलिण्डर उत्पादन गर्दै आएको छ । नेपाल सिलिण्डरको उत्पादनले आईएसओ ९००१ः२००८ समेत पाइसकेको छ । कम्पनीद्वारा उत्पादित सिलिण्डरले नेपाली बजारको ठूलो हिस्सा ओगट्छ ।

पञ्चकन्या कङ्क्रिट प्रिमिक्स
समूहले रेडीमिक्स कङ्क्रिट उत्पादन गरेकोे ११ वर्ष नाघेको छ । रेडिमिक्स बालुवा, रोडा, सिमेण्ट र प्लाष्टिसाइजर एउटै प्लाण्टमा राखेर मेशिनबाट बनाइएको घोल हो । कङ्क्रिटलाई पाइपबाट १७–१८ तलामाथि पठाउन सजिलो होस् भनेर प्लाष्टिसाइजरको प्रयोग गरिएको हुन्छ ।

यसको प्रयोगबाट ठूला–ठूला व्यावसायिक भवन, पुल तथा संरचना निर्माण हुन्छ । हातले मिक्स गरिएको कङ्क्रिटभन्दा रेडिमिक्स गुणस्तरीय हुने भएकाले यसको माग बढेको छ ।

साना घर बनाउँदा हातले घोलेको कङ्क्रिट प्रयोग भए पनि ठूला संरचनाका लागि रेडिमिक्स कङ्क्रिटको प्रयोग उपयुक्त मानिन्छ । रेडिमिक्स कङ्क्रिट प्रयोग गर्दा गुणस्तरको ग्यारेण्टीका साथै समय कम लाग्ने, खेर नजाने र प्रदूषण पनि कम हुन्छ ।

वार्षिक कारोबार

  • १०–१५ अर्बको वार्षिक कारोबार गर्ने यो समूहले २५०० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

क्षेत्रगत उपस्थिति
उत्पादन

  • पञ्चकन्या स्टील
  • पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज
  • पञ्चकन्या रोटोमाउल्ड
  • पञ्चकन्या प्लाष्ट
  • पञ्चकन्या वायर्स
  • पञ्चकन्या नेल्स एण्ड एलाइड इडष्ट्रिज
  • नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग
  • नेपाल सिलिण्डर्स प्रालि
  • युनिक फर्निचर
  • पञ्चकन्या कङ्क्रिट प्रिमिक्स प्रालि

व्यापार

  • एक्सप्लोर इण्टरनेशनल
  • उज्ज्वल ट्रेडिङ
  • पेक्जिम एभ
  • एक्सप्लोर अर्थ मुभर्स

पूर्वाधार र निर्माण

  • तेज एग्रिगे्रट्स (निर्माण सामग्री उत्पादक)
  • तेज कन्स्ट्रक्शन
  • पञ्चकन्या हाउजिङ एण्ड ल्याण्ड
  • डेभलपमेण्ट प्रालि

बैङ्क

  • नेपाल इन्भेष्टमेण्ट बैङ्क
  • सिटिजन्स बैङ्क
  • बैङ्क अफ काठमाडौं

स्वास्थ्य

  • ह्याम्स हस्पिटल

शिक्षा

  • मल्पी स्कूल

ऊर्जा

  • पञ्चकन्या माई हाइड्रोपावर
  • बुटवल पावर

समूहको लगानी योजना र सहकार्य

मुख्य व्यवसाय

  • स्टील तथा आइरन

समूहको लगानी योजना

  • व्यवसाय र नेटवर्क विस्तार
  • विदेशमा लगानी विस्तार गरी अन्तरराष्ट्रिय पहिचान बनाउने

आर्थिक अभियानबाट साभार

प्रकाशित मितिः     २५ फाल्गुन २०७५, शनिबार ०७:५७  |
error: Content is protected !!