नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिकको छ महिनामा रु ६ अर्ब २० करोड बढि राजश्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म संकलन भएको राजश्व तोकिएको लक्ष्य १ सय ९ प्रतिशत प्रगति हो ।
विभिन्न समस्याहरुका बाबाजुद पनि तोकिएको अर्धबार्षिक लक्ष्य रु. ५ अर्ब ६७ करोड १८ लाख ५२ हजार रहेकोमा रु ६ अर्ब २० करोड ५८ लाख ३१ हजार संकलन भएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरौलाले बताए । उनका अनुसार लक्ष्यको तुलनामा लगभग १०९ प्रतिशत प्रगति हासिल भएको छ । त्यस्तै गतबर्षको सोही अबधिको संकलीत राजस्व रु.४ अर्ब २१ करोड ४७ लाख ७४ हजारको तुलनामा करीब २ अर्ब बढी राजस्व संकलन भएको छ ।
नेपालगन्ज नाका हुँदै सबैभन्दा धेरै इन्धन लगायतका सामाग्री भित्रिने गरेको छ । निर्यातको अवस्था भने दयनिय रहेको छ ।
प्रस्तुत छ, प्रमुख भन्सार अधिकृत शान्तीराम निरौलाको यस सम्बन्धी भनाई…
यस क्षेत्रमा संलग्न सबैको मूलभूत लक्ष्य तथा उद्देश्य कानुनको परिपालना मार्फत बैधानिक व्यापारको प्रबद्र्धन गर्ने र राजस्व असुली अभिबृद्धि गर्ने नै हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । सबैको प्रयास, सहयोग र सहभागिताबाट मात्र बैधानिक व्यापारको प्रबद्र्धन र राजस्व बृद्धीको लक्ष्य हाँसील गर्न सकिन्छ अन्यथा सम्भव हुँदैन ।
भन्सार विभागको ट्रष्टेड ट्रेडर्सको रुपमा इमान्दार व्यवसाहीहरुलाई विशेष सहुलियत दिने, सहजिकरण गर्ने, ग्रिन च्यानल मार्फत व्यवसायी स्वयंलाई जिम्मेबार बनाउने नीति समेत रहेको निवेदन गर्दै यस भन्सारले पनि सोही अनुरुप सेवा प्रबाहलाई चुस्त बनाउने प्रयास गरिरहेको
छ । व्यवसायी र भन्सार प्रशासनको वीचमा विवाद हुने विषय नै घोषणाको हो । यदी यहाँहरुले सही वा ठीक घोषणा गर्नू भएमा कुनै पनि विवाद तथा समस्याको सृजना नै हुँदैन त्यसैले घोषणा ठीक गर्ने बानि बसाली ट्रष्टेड ट्रेडर्सको उपाधि प्राप्त गर्ने र सहजिकरणको सुविधा उपभोग गर्न याँहाँ व्यवसायीहरु सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु ।
विश्वव्यापीरुपमा नै भन्सार प्रशासनले धेरै जटील समस्या र चुनौतिहरुको सामना गरिरहेको परिप्रेक्षमा नेपालको खुला सिमाना, गरिवी, मानवीय चेतनाको कमि, राजस्व छलीलाई बाहादुरी ठान्ने मनोविज्ञान, राज्य प्रर्तिको दायीत्व र कर्तव्यको बोध न्यूनहुनु, स्वस्थ्य व्यवसाहीक बाताबरणको कमी, आदि कारणले गर्दा नेपालको भन्सार प्रशासनले अन्य मुलुकको भन्दा वढी थप समस्या र चुनौतीहरुको सामना गर्नुपरेको छ । भौतिक पूर्वाधारको कमीका कारण नेपालगंज भन्सार कार्यालयले अन्य भन्सार कार्यालय भन्दा अझ बढी समस्याहरुको सामना गर्नुपरेको छ । अन्य भन्सारका समस्या र चुनौतिका अलवा यस भन्सार कार्यालयको भौतिक पूर्वाधार कमजोर रहेको, नागरिकहरुले भन्सार प्रशासनलाई आफ्नो रक्षक वा सहयोगिको रुपमा आत्पसाथ गर्न नसकेको, भन्सारलाई व्यवस्थित गर्न प्रयास गर्दा समेत विभिन्न प्रकारका अबरोधहरु सृजना हुने गरेको महशुस भएको छ तर निकट भविश्यमा नै यसमा सुधार हुने अपेक्षा गरिएको छ । यो भन्सार कार्यालयलाई व्यवस्थित र मर्यादित बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरौं यो तपाईहरुकै सम्पत्ती हो । तपाईकै विदेशी मित्रहरु यही भन्सारको बाटो भएर आउने हुनाले तपाईको इज्जत पनि यसमा गाँसिएको छ त्यसैले यसलाई बढी बैज्ञानिक र व्यवस्थित गर्न सवैले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरौं । तपाई हामी मिलेर काम गर्ने हो भने जस्तोसुकै समस्याको पनि समाधान गर्न सकिन्छ र्हदयदेखि नै तत्तपर हुन जरुरी छ । म यसक्षेत्रका नागरिक, बुद्धीजिवी, व्यवसाही सबै मित्रहरुलाई यो भनसारको सुधारको अनुरोध र अपिल गर्न चाहन्छु र यहाँहरुबाट सुधारका लागि धेरै भन्दा धेरै सहयोग, सहभागिता र सहकार्यको पूर्ण विश्वस लिएको छु ।
यस भन्सारको कार्यक्षेत्रका नागरिक तथा व्यवसाहीहरुलाई मेरो अपिल :
राज्यप्रतिको आफ्नो दायीत्व र जिम्मेवारीको बोध गरौं अव पनि हामीमा राज्य प्रतिको जिम्मेवारी बोध भएन भने तपाई हाम्रा सन्ततीले धेरै दुखपाउने छन् । आज पनि तपाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा गएर हेर्नु भयो भने दिनमा दर्जन भन्दा बढी लास आउँछन भने मानसिक रोगि र अंगभंग भएका नेपालीहरुको संख्या अझ धेरै हुन्छन भने एड्स जस्ता प्राणघातक रोग बोकेर आउनेको संख्या अझ धेरै छ ।
चोरिनिकासी र पैठारी जस्ता जघन्य अपराध नगरौं तपालाई आबश्क पर्ने शिक्षा, स्वस्थ्य, आवास, बाटो, विजुली, शान्तिसुरक्षा लगायतका आधारभुत आवश्यकताको परीपूर्ति तपाईले तिरेको राजस्वबाट नै हुन्छ । त्यसैले स्वस्फर्त स्वयं कर तथा महशुल तिर्ने बानि बसालौं ।
चोरिनिकासी पैठारी जस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई सजायको भागिदार बनाउँन सूचना दिने बानि बसालौ भन्सार ऐनमा त्यस्तो सूचना दिने व्यक्तिलाई उक्त मालबस्तुबाट असुल भएको राजस्वको दश प्रतिशत कमिसन वा पुरस्कार दिने व्यवस्था समेत गरेको छ । तपाईको नाम तथा सूचना अति गोप्य राखिने छन । भन्सार प्रमुखको मोवाईल नम्बर ९८५८०२९४४४ मा खबर गर्नुहुन अनुरोध छ ।
कानुनको परिपालना गरि बैधानिक व्यापार व्यवसाय गरौं त्यस्तो बैधानिक व्यापारलाई हर तरहको सहयोग गर्न भन्सार प्रशासन तयार छ । बैधानिक व्यापारलाई सहजिकरण गर्ने विश्वव्यपी नीति रहनाका साथै नेपाल सरकार लगायत राजस्व प्रशासनको नीति पनि सोही रहेको छ ।
भन्सारमा मालबस्तुको निकासी पैठारी गर्दा सहि घोषणा गरौं कानुनले तपाई व्यवसाहीहरुलाई नै पहिलो भन्सार अधिकृत तोकेको हुँदा आफ्नो कानुनी जिम्मेवारी इमान्दारीका साथ पुरा गरौ ।
जस्तो सूकै समस्याको समन्वयात्मकरुपमा आपसि छलफलबाट समाधान गरौं ।