- कमल डाँगी
नेपालगन्ज : राजश्व संकलनमा योगदान पु¥याउने सामाग्रीको आयात नै शुन्यमा झरेपछि नेपालगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको लक्ष्य भेटाउन मुस्किल परेको छ । पुससम्म राजश्व संकलनको अवस्था ठिकठाकै भएपनि माघ र फागुणमा तोकिएको लक्ष्य पुरा नभएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरोलाले निरौलाले जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७५ र २०७६ का लागि रु १२ अर्व ३३ करोड राजश्व संकलन गर्ने लक्ष्य तोकिएको छ । फाल्गुणसम्म झण्डै ८ अर्व राजश्व संकलन भएको छ । समग्रमा राजश्व संकलनको अवस्था सन्तोषजनक भएपनि माघ र फाल्गुणमा भने लक्ष्य पुरा भएन । माघ महिनामा रु ९८ करोड ३४ लाख लक्ष्य तोकिएकोमा ९४ करोड मात्र संकलन भयो । यो लक्ष्यको ९४ प्रतिशत मात्र हो । त्यस्तै फाल्गुण महिनामा १ अर्व १० करोड लक्ष्य तोकिएकोमा बुधवारसम्म ९७ प्रतिशत मात्र राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत निरौलाले बताए ।
‘यसपटक नेपालगन्ज भन्सारका लागि लक्ष्य नै बास्तबिकता भन्दा धेरै दिईएको छ।’ निरौलाले भने–‘ अर्को कुरा राजश्वमा योगदान दिएको कतिपय सामाग्रीको आयात नै शुन्य अवस्थामा पुगेपछि लक्ष्य भेटाउन मुस्किल भएको हो ।’ गत आर्थिक वर्षमा ८ अर्व ३७ करोड राजश्व संकलनको लक्ष्य पाएको नेपालगन्ज भन्सारले रु १० अर्व २७ करोड राजश्व उठाएको थियो । तर यसपटक तोकिएको लक्ष्य बैज्ञानिक नभएको र बास्तबिकता भन्दा फरक भएको कर्मचारीको दाबी छ ।
नेपालगन्ज भन्सार हुँदै चालु आर्थिक वर्षको फागुणसम्म मोटरसाईकल, मेशिनरी सामाग्री, रेलका ईन्जिन र सुपारी लगायतका सामाग्रीको आयात शुन्यमा झर्यो । भन्सारका अनुसार गत आर्थिक वर्षमा मोटरसाईकल आयात गर्दा रु १ करोड ६८ लाख राजश्व संकलन भएको थियो । बिद्युतीय मोटर आयातबाट मात्र गत वर्ष रु १ करोड ६२ लाख र सुपारी आयातबाट ९८ लाख राजश्वक संकलन भएको थियो । भेरी डाईभर्सनको प्रयोगका लागि गत वर्ष आयात गरिएको रेल ईन्जिनले राजश्व संकलनमा रु १२ करोडको योगदान दिएको थियो । ‘तर यसपटक यि कुनै पनि सामाग्री अहिलेसम्म आयात भएको छैन ।’– निरौलाले भने,–‘गत वर्ष रु ४२ करोड राजश्व संकलनमा योगदान दिएका सामाग्री यसपटक आयात भएको छैन ।’
राजश्व संकलनको अवस्था नेपालगन्ज भन्सारमा मात्र नभई देशभरका भन्सारमा सन्तोषजनक छैन । यस्तै अवस्था रहे नेपालगन्ज भन्सार कार्यालयले राजश्व लक्ष्य संशोधनका लागि भन्सार बिभागमा पत्र लेख्ने तयारी गरेको छ ।