२२० सिसीका पल्सर मोटरसाईकल देख्नै नहुने चोर


बाँके :  २२० सिसीको पल्सर मोटरसाईकल देख्ने बित्तिकै चोरी गर्न भ्याईहाल्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । दैलेख चामुण्डा बिन्द्रासैनी ९ का महेन्द्रप्रसाद न्यौपाने, बिमल प्रसाद न्यौपाने, दैलेख आठबिसकोट ५ का अर्जुन शाहीलाई बिभिन्न समयमा चोरी भएका मोटरसाईकल सहित जिप्रका बाँकेले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा यूपी ३२ जेपी १७३९ नम्बरको रायल ईनफिल्ड, भे ४ प ४०२० नं.को २२० सिसीको पल्सर, लु ४० प ९८५१ नं.को २२० सिसीको पल्सर र यूपी ३२ जेपी ६५५० नम्बरको २२० सिसीको पल्सर मोटरसाईकल बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ सेतुबिक चोक बस्ने ईरसाद हुसेन हलवाईले रोकिराखेको रोईल ईनफिल्ड मोटरसाईकल चोरी गर्दै गर्दा महेन्द्र प्रशाद न्यौपाने पक्राउ परेपछि यो गिरोहको रहस्य खुलेको हो ।

उक्त गिरोहले २२० सिसीको मोटरसाईकलमै धेरै आँखा लगाउने गरेका थिए । त्यसरी चोरी भएका मोटरसाईकल सुर्खेत, कैलाली र दैलेखबाट बिक्री गर्थे । प्रहरीले बरामद गरेका मोटरसाईकल पनि बिभिन्न जिल्लाबाट झिकाएको हो । सेतुबिक चोकमा रायल ईनफिल्ड चोरी गर्दागर्दै न्यौपानेलाई फेला पारी मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । रायल ईनफिल्ड चोरीको घटनापछि यातायात ब्यवस्था कार्यालय अगाडी बर्दिया मधुबन वडा नम्बर ६ बस्ने यम बहादुर घर्तीको भे ४ प ४०२० नं.को २२० सिसीको पल्सर मोटरसाईकल , थान १, सोही ठाउँबाट पृतम गुरुङको लु ४० प ९८५१ नं.को २२० सिसीको पल्सर मोटरसाईकल , नेपालगन्ज वडा नम्बर ं.११ बिपी चोक बस्ने मोहम्मद रजा जसगढले खडा गरी राखेको २२० सिसीको पल्सर मोटरसाईकल चोरी भएको जिप्रका बाँकेमा परेको थियो ।

ती उजुरीका बिषयमा प्रहरीले पक्राउ परेका न्यौपानले सोध्यो । न्यौपानेलाई सोधपुछ गर्दा घटनामा बिमल प्रसाद न्यौपाने र अर्जुन शाहीको समेत संलग्नता रहेको र अन्य मोटरसाईकलहरु दैलेख, सुर्खेत र कैलाली लगायतका जिल्लाहरुमा बिक्री गर्नको लागि लुकाई छिपाई राखेको खुलेको थियो । प्रहरीको सक्रियता बढाई अन्य चोरी गर्ने व्यक्तिहरुको पहिचान गरी र मोटरसाईकलहरुको खोजतलास गर्ने क्रममा ती मोटरसाईकलहरु मोटरसाईकलहरु सुर्खेत, कैलाली र दैलेखबाट उक्त मोटरसाईकलहरुको नं.प्लेट बदली गरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो ।

प्रकाशित मितिः     २९ फाल्गुन २०७५, बुधबार २१:०९  |