बैंकको लगानीसंगै बाँकेमा तरकारी उत्पादन बढ्यो, तर अझै भारतकै भर पर्नुपर्ने बाध्यता


नेपालगन्ज : बैंक तथा वित्तियक्षेत्रहरुले बाँकेमा तरकारी उत्पादनका क्षेत्रमा हरेक वर्षजसो ऋण लगानी बढाउँदै लगेका छन् । ऋण लगानीमा भएको बृद्धिसंगै उत्पादन समेत तरकारी बढ्दै छ । तर तरकारी खपतका लागि भने बाँके आत्मनिर्भर बन्न सकिरहेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४र २०७५ मा मात्र जिल्लाभर तरकारी उत्पादनका लागि बैंक तथा बित्तियक्षेत्रबाट रु ५३ करोड ऋण लगानी गरेका थिए । चालु आर्थिक वर्ष २०७५ र २०७६ मा सरकारले तरकारीबाली लगायतको कृषिक्षेत्रमा सहुलियत ऋणको व्यवस्था गरेका कारण ऋण लगानी अझ बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७३ र २०७४ मा बाँकेमा तरकारी उत्पादनका क्षेत्रमा मात्र रु रु ४४ करोड र आर्थिक वर्ष २०७२र२०७३ मा रु ३६ करोड ऋण लगानी भएको थियो ।
ऋण लगानीसंगै उत्पादन समेत बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । उसका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा ९८ हजार १ सय २० मेट्रिक टन तरकारी उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३ र २०७४ मा ९४ हजार ५ सय १२ र आर्थिक वर्ष २०७२ र २०७३ मा ७७ हजार २ सय ७८ मेट्रिक टन तरकारी उत्पादन भएको छ ।
बाँकेमा व्यवसायीक तरकारी खेती गर्ने क्रम बढेको पाईन्छ । व्यक्तिगतरुपमा, सामुहिक र सहकारीमा मिलेर तरकारी उत्पादन हुने गरेको छ । तर दैनिक जसो भारतबाट नेपाल भित्रिने सस्तो तरकारीसंग यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन सकेका छैनन् । लागत मूल्य समेत उठ्न नसकेका कारण कतिपय तरकारी उत्पादक कृषक ऋणमा चुर्लुम डुबेका छन् ।

प्रकाशित मितिः     २ चैत्र २०७५, शनिबार १२:४१  |