राष्ट्रिय खेलकुदको उद्घाटन समारोह सम्झनलायक बनाउने तयारी


नेपालगन्ज : नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई भब्य बनाउने तयारी भएको छ । उद्घाटन समारोह कहिले हुन्छ भन्ने टुङ्गो लगाउन बाँकी छ ।
ढिलोमा चैत २५ गतेभित्र उद्घाटन समारोह गर्ने तयारी भइरहेको राखेप सदस्य सचिव केशव बिष्टले बताए । त्यसैको तयारीमा अहिले साँस्कृतिक समितिले काम सुरु गरिएको छ । उद्घाटन सत्र भन्दा पहिल्यै चैत १९ गतेबाट केही खेलहरु भने सन्चालन गरिने छ । खेल कुम्भका रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोेगिता धेरै समयको अन्तराल पछि दोस्रो पटक आयोजना गरिदैछ । उक्त प्रतियोगिताको उद्घाटन समारोह भब्य बनाउन राखेप सदस्य सचिव केशव बिष्ट, राखेप सदस्य बिनोद मैनाली लगायत खेल पदाधिकारीहरुले आईतबार बिभिन्न क्षेत्रका अगुवासंग छलफल गरेका छन् ।


उद्घाटन सत्रमा हरेक भेषभुषा, धर्म, सम्प्रदाय, कला संस्कृतिक झल्किने झाँकी प्रदर्शनी गरिने गरिने छ । त्यसैगरी अतिसबाजी समेत गर्ने तयारी भइरहेको छ । ‘उद्घाटन सत्रलाई हामी सम्झनलायक बनाउन खोजिरहेका छौं । त्यो दिन पुरै नेपालको झल्को दिने साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।’– क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम ओलीले भने ।

प्रकाशित मितिः     ३ चैत्र २०७५, आईतवार २०:०१  |