लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, ७७ ओटा परियोजना प्रस्तुत हुँदै


काठमाडौं : चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा उद्घाटन हुने उक्त सम्मेलनमा ४० देशका ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने छ ।

सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी , नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र गैह्र आवासीय नेपली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहने अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ ओटा परियोजनाहरु प्रस्तुत गर्नेछन् । त्यसैगरी सम्मेलनमा करीब १२ ओटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको छ ।


सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातओटा विषयगत सत्रहरु संचालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईओटा क्षेत्रगत र तीनओटा प्लेनरी सत्रहरु संचालन हुनेछन् ।

नेपाल सरकारले यस लगानी सम्मेलन मार्फत विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवर्द्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको अर्थमन्त्री डा. खतिवडाले बताए । आर्थिक अभियानबाट

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार ०९:००  |
error: Content is protected !!