आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन बैशाख ५ गते हुने निर्णय


बाँके १५ चैत : नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ बैशाख ५ गते उद्घाटन हुने भएको छ । शुक्रबार काठमाण्डौंमा बसेको राखेपको १११ औं बोर्ड बैठकले बैशाख ५ गते ११ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
मिति तय नहुँदा उक्त प्रतियोगिताको कहिले हुन्छ भन्ने आशंकालाई चिर्दै राखेप बोर्ड बैठकले उक्त निर्णय गरेको प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिए । ओलीका अनुसार केही खेलहरु चैत मसान्तबाटै शुरु गरिने छ । भौतिक पूर्वाधारको काम सम्पन्न हुन बाँकी भएकाले उद्घाटन समारोह २०७६ बैशाखमा सारिएको हो । उक्त अवधीमा काम सम्पन्न गर्नका लागि अहिले तिब्र तयारी भइरहेको छ ।
उद्घाटन सत्रमा हरेक भेषभुषा, धर्म, सम्प्रदाय, कला संस्कृतिक झल्किने झाँकी प्रदर्शनी गरिने गरिने छ । त्यसैगरी अतिसबाजी समेत गर्ने तयारी भइरहेको छ । ‘उद्घाटन सत्रलाई हामी सम्झनलायक बनाउन खोजिरहेका छौं । त्यो दिन पुरै नेपालको झल्को दिने साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।’– क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम ओलीले भने ।
। प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगन्ज रंगशाला मैदान, सोही स्थानमा ६५ सय क्षमताको दर्शक प्यारापिट, नेपालगन्जमै सुटिङ रेन्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा रहेको क्रिकेट मैदान, घोराहीमा बासकेटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लनटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     १५ चैत्र २०७५, शुक्रबार १७:०१  |