नेपालगन्ज नाकाबाट पशु र पशुजन्य सामाग्रीको आयात पूर्णरुपमा ठप्प, कारण–‘स्वास्थ्य प्रमाणपत्र’


बाँके १५ चैत : झण्डै तीन हप्तायता नेपालगन्ज नाका हुँदै पशु तथा पशुजन्य सामाग्रीको आयात पूर्णरुपमा ठप्प भएको छ । व्यवसायीहरुले पशु तथा पशुजन्य सामाग्रीको स्वास्थ्य परिक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरुपमा रोकिएको हो । भन्सारसम्म ल्याइपु¥याएको दाना लगायतको सामाग्रीमा थन्किएको छ ।

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई पशु क्वारेन्टाइन गर्दा हुबहु लागु गर्न फाल्गुण ३ गते देशभरका पशु क्वारेन्टाइनलाई पत्र पठाएको थियो । उक्त पत्रमा ऐनमै भएको व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठका अनुसार, अव भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य सामाग्री दानाहरु ल्याउँदा सेनेटरी प्रमाणपत्र आवश्यक पर्छ ।

‘त्यस्तो प्रमाणपत्र दिने निकाय दिल्ली वा कलकत्ता जस्ता ठाउँमा रहेछन । नेपालगन्जका आयातकर्ताका लागि दिल्ली नै नजिक पर्ने देखियो ।’ कार्यालय प्रमुख श्रेष्ठले भने–‘पहुँच नभएका कारण आयातकर्ताहरुले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा कुनै पनि पशु र पशुजन्य सामाग्री आयात हुन नसकेको हो ।’ नेपालगन्ज नाकामा फाल्गुण २६ गतेबाट कुनै पनि सामाग्री आयात भएको छैन् । पशु तथा पशुजन्य दानाहरु पशु क्वारेन्टाइनको स्वीकृतीमा भन्सार तिरेर मात्र नेपाल ल्याउन पाईन्छ । ‘व्यवसायीहरुले प्रमाणपत्र ल्याउन नसकेपछि हामीले पशु तथा पशुजन्य सामाग्री आयातका लागि अनुमति दिएका छैनौ ।’– श्रेष्ठले भने ।


यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशु तथा पशुजन्य सामाग्री खरिद गरेको बिल र भारतीय कस्टमको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्न पाईन्थ्यो । तर यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य सामाग्री अस्वस्थ्यकर भएको पाईएपछि सरकारले ऐन कार्यान्वयनमा कडाई गरेको हो । दाना लगायतका सामाग्री आयातका लागि पहिले पशु सेवा बिभागको कागज भए पुग्ने भएपनि अब सेनेटरी प्रमाणपत्र अनिवार्य गरिएको छ ।

ऐन कार्यान्वयनमा कडाई भएको थाहा नपाएका धेरै व्यवसायीको दाना लगायतका सामाग्री नेपालगन्ज भन्सारमा थन्किएको छ । पशु क्वारेन्टाइनले अनुमति नदिएपछि भन्सार हुन सकेको छैन । स्वास्थ्य प्रमाणपत्र ल्याएप्छि मात्र आयातका लागि अनुमति दिने तयारीमा पशु क्वारेन्टाइन कार्यालय रहेको छ । नेपालगन्ज नाका हुँदै चालु आर्थिक वर्षको फाल्गुण २६ गतेसम्म ६९ हजार २ सय २७ गोटा खसी,बोका भित्रिएको थियो । त्यस्तै १४ सय ७५ मेट्रिक टन भन्दा बढि दाना आयात भएको थियो ।

प्रकाशित मितिः     १५ चैत्र २०७५, शुक्रबार १४:४१  |
error: Content is protected !!