लगानी सम्मेलनमा समेटिएको नौबस्ता औद्योेगिकक्षेत्रमा साबुनदेखि सिमेन्ट उद्योगसम्म खुल्ने


नेपालगन्ज : काठमाण्डौंमा जारी लगानी सम्मेलनमा समेटिएको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रमा कस्ता उद्योग सन्चालन गर्न सकिन्छ होला ? धेरैको जिज्ञासाको बिषय बनेको छ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गर्न ७७ वटा परियोजनालाई शोकेसमा राखेको छ । जसमा अन्य परियोजना जस्तै नौबस्ता ओद्योगिक क्षेत्रको बिषयमा बिस्तृत जानकारी दिदै कस्ता उद्योग सन्चालन गर्न सकिन्छ भन्ने उल्लेख छ ।

नौबस्ता औद्योगिक क्षेत्रमा नुडल्स् उद्योगदेखि टेक्सटाइलसम्मका उद्योग सन्चालन गर्न सकिने लगानी सम्मेलनको शोकसमा राखिएको परियोजनामा उल्लेख छ । नौबस्ता औद्योगिकक्षेत्रमा नुडल्स्,डेरी उद्योग, बेबी फुड प्रोडक्सन उद्योग,लेदर, जडिबुटी प्रशोधन, खाद्यन तथा तेल उत्पादन, तरकारी तथा फलफुल प्रशोधन,टेक्सटाईल, अल्मुनियम तथा मेटल, सिमेन्ट उद्योग,सुगर मिल, फर्निचर उद्योग, इट उद्योग, साबुन जस्ता उद्योग सन्चालन गर्न सकिने उल्लेख छ ।

२ सय २४ हेक्टरमा निर्माणाधिन नौबस्ता औद्योगिक क्षेत्रमा लगानी सम्मेलनमा समेटेपछि बाँकेको नीजिक्षेत्र उत्साहित भएको छ । लगानी सम्मेलनबाट उक्त औद्योगिकक्षेत्रले लगानी पाउने अपेक्षा गरिएको छ । २०७२ साल चैत्र १ गते घोषणा भएको नौबस्ता औद्योगिक क्षेत्रको निर्माण लागत ८ अर्ब ७ करोड रुपैयाँ हुने आँकलन गरिएको छ ।  नौबस्ता औद्योगिक क्षेत्रमा १ सय ११ वटा औद्योगिक प्लट विभाजन गरिएको छ । जसमा कम्तिमा ५ कठ्ठादेखि ४० कठ्ठासम्ममा साना–ठूला उद्योग संचालनमा आउने छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नौबस्ता औद्योगिक क्षेत्र संचालनमा आएपछि आयातमा कमि आउने र निर्यात बढ्न गई व्यापार घाटा कम हुने पनि विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः     १६ चैत्र २०७५, शनिबार ११:३७  |