सभागृहलाई सहरी विकास मन्त्रालयले सहयोग गर्ने, ‘अब काम अघि बढ्छ’– बैश्य


फाइल फोटो

बाँके १५ चैत : नेपालगन्जको सडक डिभिजन परिसर काँरकादोमा प्रस्ताव गरिएको बहुउदेश्यीय सभागृह निर्माणका लागि सहरी विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले गृहजिल्ला नेपालगन्ज आएका बेला बहुउदेश्यीय सभागृह निर्माणका लागि सहयोगको घोषणा गर्ने छन् ।

यसै बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले मन्त्री राईलाई राजधानी काठमाण्डौंमा भेटेका छन् । ‘मन्त्री ज्यू केहीदिनमै नेपालगन्ज आउनुहुन्छ । त्यही बेला बहुउदेश्यीय सभागृहका लागि केही घोषणा गर्ने अपेक्षा गरेका छौ ।’ अध्यक्ष बैश्यले भने,–‘उहाँसंगको भेटपछि बहुउदेश्यीय सभागृह बन्नेमा उत्साहित भएको छु ।’ अध्यक्ष बैश्यका अनुसार बहुउदेश्यीय सभागृह सरकार, विकास समिति र नेपालगन्ज उद्योग वाणिज्य संघको त्रिपक्षीय सहकार्यमा बन्ने छ । सभागृह बनाउन १ अर्व लाग्ने अनुमान गरिएको छ ।

११ वर्ष अघि बहुउदेश्यीय सभागृह बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघलाई ५० वर्षका लागि सडक डिभिजन परिसरमा जग्गा प्राप्त भएको थियो । सभागृह बनाउन संघले पटक पटक महोत्सव आयोजना गर्दै आएको भएपनि रकम अपुग भयो । सोही कारणले सभागृह बन्नेमा अन्यौलता छाएको थियो । तर अब सभागृह बन्नेमा ढुक्क रहन अध्यक्ष बैश्यले आग्रह गरेका छन् ।

अध्यक्ष बैश्य राजधानी काठमाण्डौंमा रहेका बेला शहरी विकास मन्त्री ईस्तियाक राईका साथै उद्योगी मन्त्री, अर्थ सचिव लगायतसंग भेट गरेर यस क्षेत्रको आर्थिक र उद्योग क्षेत्रको समस्या समाधानका लागि पहल गरेका छन् । अध्यक्ष बैश्यले उद्योग मन्त्रीसंगको भेटका क्रममा उद्योग नविकरणको बिषयलाई प्राथमिकताका साथ उठाएका थिए । त्यस्तै अध्यक्ष बैश्य लगानी सम्मेलनमा समेत सहभागि भएका थिए । नौबस्ताको औद्योगिक क्षेत्र लगानी सम्मेलनमा समाबेश हुनु अत्यन्त सकारात्मक बिषय भएको अध्यक्ष बैश्यले बताए ।

प्रकाशित मितिः     १६ चैत्र २०७५, शनिबार १४:०८  |