‘कर प्रणालीका बारे अपटेड हुन जरुरी छ’


नेपालगन्ज : कर प्रणालीको बिषयमा उद्योगी, व्यवसायीहरु ‘अपटेड’ हुनुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघमा आईतबार आयोजित मध्यमस्तर करदाता सम्बन्धी कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले कर प्रणालीका क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भइरहेकाले त्यसको बिषयमा स्वयं उद्योगी, व्यवसायी पनि जानकार हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अरुको भर पर्ने भन्दा पनि स्वंय उद्योगी, व्यवसायीले पनि जानकारी लिनुपर्नेमा जोड दिए । ‘अरुको मात्र भर नपरौं । कम्तिमा कर प्रणालीमा भइरहेका नयाँ विकासका बारेमा अपटेड रहौं ।’ बैश्यले भने–‘त्यसो गर्न सकियो भने कुनै समस्या पर्दैन ।’ मध्यमस्तरका करदाताहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यालयका प्रमुख कर अधिकृत हरि तिमिल्सेनाले हिसावकिताव दुरुस्त राख्ने सक्नुपर्ने र आवश्यक ठाउँमा समयमै आयब्य बिबरण बुझाउनुपर्ने बताए । उनका अनुसार देशभर मध्यस्तरका करदाताको संख्या ८ सय ३३ जना रहेका छन् ।

रु ४० करोडदेखि ८० करोडसम्मको कारोवार गर्ने उद्योगी, व्यवसायीलाई मध्यस्तरको करदाता सुचिमा राखिएको छ । त्यस्ता करदाताको संख्या बाँके र बर्दियामा १८ जति रहेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बरिष्ठ उद्योगपति कन्हैयालाल बैद्य, संघका महासचिव अजय टण्डन लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः     १७ चैत्र २०७५, आईतवार १९:३३  |