बारा : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ आएको हुरीबाट प्रभावित र घाइतेसँग भेट गरेका छन्। हुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले उपचार गरिरहेकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्। भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेर पीडितकहाँ पुगेका थिए उनी। प्रधानमन्त्री ओलीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशनसमेत दिए। कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।
प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको ब्रिफिङ गरेका थिए। गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए। हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।
उद्योग वाणिज्य महासंघले सहयोग गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले वारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई राहतका लागि पचास लाख रुपैयाँको कोष बनाउने निर्णय गरेको छ। महासंघको सोमबार बसेको आकस्मिक बैठकले पचास लाख रुपैयाँको कोष बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो। महासंघकी अध्यक्ष भवानी राणाले पचास लाख रुपैयाँको कोष बनाएको बताउँदै पीडितका लागि टेन्ट र अन्य मानवीय सहायता उपलब्ध गराउने जानकारी दिईन्।
वारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। यसले हामी निजी क्षेत्रलाई मर्माहत बनाएको छ। हामीले तत्कालै राहत लागि पचास लाख रुपैयाँ छुट्याएका छौं’ उनले भनिन्,’ हामीले टेन्ट समेत किनेर प्रभावित क्षेत्रमा वितरण गर्नेछौं।‘ उनका अनुसार महासंघको प्रदेश नम्बर २ र जिल्ला उद्योग वाणिज्य महासंघले राहत वितरणको नेतृत्व गर्नेछन्।
चम्बर अफ कमर्श तात्तियो
नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ। चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले यो निर्णय गरेको हो। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दु:ख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए। उनका अनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबारनै बारा-पर्सा जानेछ।
‘हामीले जिल्लाका चेम्बरलाई समेत राहत वितरणका लागि खट्न आग्रह गरिसकेका छौं। केन्द्रबाट समेत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा टोली जानेछ। यो विपत्तको समयमा निजी क्षेत्रबाट हामीले सक्दो सहयोग गर्नेछौं’ उनले बिजमाण्डूसँग भने,’हामी तत्कालको बासका लागि आवश्यक त्रिपाल र टेन्ट जम्मा पार्न थालिसकेका छौं।’