नेपालगन्ज,२५ चैत : नेपालगन्जको मुटु मानिने ऐतिहासिक त्रिभुवनचोक पुर्ननिर्माण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगन्ज उद्योग वाणिज्य संघले चोक पुर्ननिर्माण गर्न समन्वय गरिरहेको हो । चोकको पुर्ननिर्माणका लागि सोमबार राती शालिक राख्न मनाईएको ठाउँ डोजर लगाएर भत्काईएको छ । अचानक उक्त ठाउँ भत्काएपछि धेरैले अनेक जिज्ञासा राखेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले चोकको शालिक राख्ने संरचना जिर्ण अवस्थामा पुगेकाले पुर्ननिर्माणमा समन्वय गरिएको बताए ।
‘पुरानो संरचना भत्काएर त्यही ठाउँमा शालिक राख्ने व्यवस्था हुन्छ । जहाँ सम्म कस्को शालिक राख्ने भन्ने छ, त्यो सम्बन्धित निकायको कुरा हो ।’ अध्यक्ष बैश्यले भने,–‘ तर हामी भने त्यहाँ अब ठुलो लाईट र राष्ट्रिय झण्डा फहराउने गरी संरचना बनाउँछौं । त्यही शालिक राख्ने ठाउँ पनि हुन्छ । ’ अध्यक्ष बैश्यले चोकको ऐतिहासिक पक्षलाई मर्न नदिने र त्यसलाई अझ आर्कषक बनाउने जानकारी दिए । राजा त्रिभुवनको शालिक भएका कारण उक्त ठाउँलाई त्रिभुवनचोक भनेर नामाकरण गरिएको हो ।
बिभिन्न आन्दोलनका क्रममा त्रिभुवनको शालिक तोडफोड गरेपछि त्यहाँ कस्को शालिक राख्ने भन्ने बिषय बिबादित बन्दै आएको छ । शालिक राख्ने ठाउँ जिर्ण अवस्थामा पुगेको थियो भने त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । अब भने चोक राम्रो हुने अध्यक्ष बैश्यले बताए । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले नयाँ संरचना बनेपनि शालिक राख्ने ठाउँ भने यथावत राख्ने सर्तमा उद्योग वाणिज्य संघसंग समन्वय गरिएको बताए ।