नेपालगन्ज,२६ चैत : बेमौसमी पानीका कारण बाँकेका किसानले उत्पादन गरेको धेरै जसो आलु खेतमै कुहिएको छ । उत्पादन राम्रो भएपनि बारीबाट निकाल्ने बेला फागुण दोस्रो साता पानी परेपछि आलु कुहिएको हो ।
‘बारीबाट निकाल्ने बेला लगातार पानी परेपछि आलु कुहियो’ डुडुवा गाउँपालिका वडा नम्बर ६ का कृषक उमेश यादवले भने–‘यसपटक उत्पादन राम्रै भएको थियो तर कुहिएपछि बर्बाद भयो ।’ उनी बलदी पुरुवा आईपिएम कृषक समूहका व्यवस्थापक हुन । उक्त समूहले झण्डै २१ हेक्टर आलु खेती गरेका थिए । उनी लगायत तीनवटा कृषक समूहले व्यवसायीक आलु खेती गर्दै आएका छन् ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना बाँके जिल्ला अनुगमन अधिकृत पार्वती घिमिरेले आईपिएम समूह सातौं कलमा ५ वटा आलु उत्पादनका उप–आयोजना सन्चालनमा छन् । ६३.५ हेक्टर क्षेत्रफलमा १५ सय २४ मेट्रिक टन आलु उत्पादन भएको घिमिरेले बताईन । ‘यसपटक राम्रो उत्पादन हुने आशमा बसेका कृषकलाई निरास बनायो ।’– उनले भनिन् । पानीले चुटेका आलु कुहिने डरले कृषकले कोल्ड स्टोरमा राख्न पनि सकिरहेका छैनन् । जसका कारण कोहलपुरस्थित भेरी शित भण्डारमा आलु स्टोर समेत कमै मात्रामा भएको छ ।