नेपालगन्ज कारागारका कैदीले बनाएका बाँसका मुढा सस्तो अनि पक्का


नेपालगन्ज,२६, चैत : तपाईलाई गुणस्तरिय र आर्कषक बाँसका मुढादेखि डाईनिङ्ग टेबुल चाहिएको छ ? यदि चाहिएको छ भने नेपालगन्ज कारागारमा रहेका कैदी र बन्दीसंग सम्पर्क गर्नुहोस् । बिभिन्न अपराधमा जेल सजाए भोगिरहेका कैदीरबन्दीहरुले बनाएका बाँसका मुढादेखि डाईनिङ्ग टेबुल धेरैको रोजाईमा पर्ने गरेको छ ।
उनीहरुले बनाएको मुढाहरु आर्कषक र बलियो हुने गरेको छ । ‘धेरै मेहेनत गरेर बनाउँछन्’ कारागारका नायब सुब्बा दिपेन्द्र प्रसाद पौडेल भन्छन्–‘ एउटा मुढा आठर दश वर्ष राम्रो गरी चल्छ ।’ कारागारभित्र चौकीदारका रहेका जनक बुढामगरका अनुसार दश जना कैदीरबन्दीले यस्तो मुढा, डाईनिङ्ग टेबुल बनाउँछन् ।
‘पहिलेदेखि नै यस्तो बनाउने सीप रहेछ । यहाँ आएपछि त्यसको सदुपयोग गरिरहेका छन् ।’– बुढामगरले भने । अत्यन्त आर्कषक र बलियो नै उनीहरुले बनाउने मुढाको बिशेषता रहेको बताउँदै बुढामगरले थपे,–‘मेहेनत गरेर बनाउने भएकाले नाफा पनि थोरै खान्छन् । बाहिरको जस्तो कमसल बनाएर धेरै नाफा खाएको पाईदैन ।’ एउटा मुढा बेचे वापत मुस्किलले ५० रुपैया जति नाफा हुने गरेको छ ।
माग धेरै आएपनि कारागार भित्र ठाउँ अभाव भएका कारण गर्मीयाममा मुढा बनान बन्द गरिएको छ । तीन सय क्षमताको कारागारभित्र अहिले सात सय कैदीरबन्दी छन् । ‘गर्मी मौसममा सुत्न, बस्न नै मुस्किल हुन्छ । त्यस्तो बेला मुढा कसरी बनाउने ?’– चौकीदार बुढाले भने । मुढा बनाउन फराकिलो ठाउँ चाहिन्छ । साँघुरो ठाउँ भएकाले जाडो महिनामा मात्र मुढा बनाउने काम गरिन्छ ।
जाडोको दुई महिनामा झण्डै दुई सय जति मुढा बनाउने काम भएको छ । एउटा मुढाको मूल्य हेरेर २ सयदेखि ५ सयसम्म पर्छ । कारागारभित्रकै कर्मचारी, आफन्तको सम्पर्कमा रहेकाले मुढा किन्छन् । कच्चा पदार्थ बाँस र डोरी आफन्तले नै कारागारभित्र ल्याउने गरेका छन् । ठाउँ अभावका कारण कैदी,बन्दीले चाहे जति मुढा बनाउन नसकेको नायब सुब्बा पौडेलले स्वीकारे । उनले भने,–‘नयाँ कारागार बन्दे छन् त्यसपछि केही होला की ? अहिले ठाउँ साँघुरो भएकाले कैदीहरुले चाहे जस्तो सीपको प्रयोग सकेका छैनन् ।’ कैदीहरुले मुढा बिक्रीबाट आएको पैसा आफ्नो खर्चमा मात्र होइन घरसम्ममा पठाउँने गर्छन ।

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार १४:१४  |