प्रदेश नं. ५ को विजयी शुरुवात : जित्ने, हार्ने दुवै टिमलाई मन्त्री राईले नगद पुरस्कार दिए


नेपालगन्ज, २७, चैत : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार शुरु भएको हक्की खेलमा प्रदेश नं. १ का विरुद्ध प्रदेश नं. ५ ले तीन गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. १ लाई दवावमा राखेको ५ नं. प्रदेशका खेलाडी सानु लामाले २९ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि ४१ मिनेटमा अमन कुमार र ५२ औं मिनेटमा मनिस गुरुङ्गले गोल गरे पछि ५ नं. प्रदेशलाई जित दिलाए ।

हक्की प्रतियोगिताको उद्घाटन गर्न आएका शहरी विकास मन्त्री ईस्तियाक राईले बिजेता र उपबिजेता टिमलाई नगद पुरस्कार दिएर हौसला बढाए । खेल सकिएपछि मैदान पुगेर बिजेता ५ नं. प्रदेशका टिम लिडरलाई ५१ हजार र उपबिजेता टिमलाई ११ हजार नगद पुरस्कार दिए । उद्घाटन सत्रमा बोल्दै मन्त्री राईले खेलक्षेत्रबाट राष्ट्रलाई चिनाउने अवसर रहेको बताए ।

पहिलो दिन बुधवार हक्कीका तीनवटा खेल भएका थिए । प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. ३ लाई दवावमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।  खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे । भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।
निरन्तर दवावमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।


नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।  आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार १९:१५  |