सवारी चलाउन सिक्न नेपालगन्ज उपमहानगरमा कोटा भन्दा धेरै महिलाको निवेदन


नेपालगन्ज,२८ चैत : सवारीसाधन प्रशिक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकामा कोटा भन्दा धेरै महिलाको निवेदन परेको छ । २५ जना महिलालाई जिप,कार जस्ता हलुका सवारीसाधनको प्रशिक्षण दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चैत १८ गते सार्वजनिक सूचना जारी गरेको थियो । हालसम्म २७ जना महिलाले प्रशिक्षणका लागि निवेदन दिएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत शरद पौडेलले जानकारी दिए ।

निवेदन दिने मिति बैशाख २ गतेसम्म तोकेकाले अझै निवेदन बढ्ने देखिन्छ । महिलामैत्री बस सन्चालनको तयारीमा रहेको उपमहानगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन फरक पेशामा प्रोत्साहन गर्दै नयाँ कामको सुरु गर्न थालेको हो । आर्थिक सबलीकरण र सशक्तीकरणको माध्यमबाट घरभित्रै सिमित महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन सवारीसाधनको प्रशिक्षण दिन लागिएको हो । आर्थिक वर्ष २०७५र२०७६ को नेपाल सरकार साझेदारी विकास कार्यक्रम अन्र्तगत प्राप्त बिशेष अनुदानबाट महिलाहरुलाई हलुका सवारीसाधन सन्चालनका लागि निःशुल्क तालिम दिन लागिएको हो ।

प्रकाशित मितिः     २८ चैत्र २०७५, बिहीबार ११:३३  |