नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै दश करोड क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । बिहान ४ बजे लागेको आगो दुई घण्टापछि निभाउन सकिएको थियो ।
आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए । ‘बिहान एक्कासी उद्योगबाट आगलागी भएको खबर आयो । त्यसपछि दश मिनेट भित्र हामी यहाँ आईपुग्यौं ।’ मिश्रले –‘हामी यहाँ आईपुग्दा उद्योगमा आगो दन्किरहेको थियो ।’
आगो निभाउन दश मिनेट भित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकाको दुईवटै दमकल आईपुगेका थिए । सबै संयन्त्र छिटो आएपनि प्लाई जस्ता कच्चा पदार्थका कारण आगो झन् दन्कियो । दुई घण्टा पछि मात्र आगो निभाईएको छ ।
आगलागीबाट प्लाई उत्पादन गर्न महत्वपूर्ण मानिने कोर ड्राईप्रेसर, बोइलर जस्ता महत्वपूर्ण दर्जन मेशिन जलेका छन् । ती मध्ये कतिपय एउटै मेशिन दुई करोडसम्म पर्ने मिश्रले बताए । उनले भने,–‘लाखौंको कच्चा पदार्थ झन् जलेर खाकै भयो ।’ महत्वपूर्ण सामान जलेका कारण उद्योगको उत्पादन फेरी कहिले शुरु हुन्छ एकिन छैन । प्रारम्भीक अनुमानमा रु १० करोडको क्षती भएको छ । तर त्यसको थप बिबरण सबै क्षतीको मुल्यांकन गरेर मात्र थाहा लाग्ने मिश्रले बताए ।
आगलागी कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य दिनमा संधै जसो रातभर उद्योगमा कामदार हुने भएपनि शुक्रबार भने कामदार अभावका कारण कोही थिएन । त्यही बेला आगलागी भएको छ । किन र के कारणले आगलागी भयो भन्ने खुल्न बाँकी छ ।