प्रधानमन्त्रीले भने,–‘हजुर आमा औषधी नखाएर सय वर्ष बाँच्नुभयो, नाती औषधी बोकेर हिड्नुपरेको छ’


नेपालगन्ज, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्यकर खानेकुराका कारण नेपालीहरुको स्वास्थ्य स्थिती दिनप्रतिदिन बिग्रिदै गएको भन्दै चिन्ता प्रकट गरेका छन् । मंगलबार नेपालगन्जमा सोल्टी वेष्टेण्ड प्रीमियरको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो पुस्ताले ‘आर्गनिक’ भन्दा बिषादीयुक्त खानेकुरा खाइरहेको बताए ।

‘एकातिर गरिबीले गर्दा पोशनयुक्त खानेकुरा पाईएको छैन । अर्कोतिर बजारमा बाहिर हेर्दा खाउँ खाउँ लाग्ने तर भित्र अस्वस्थ्यकर खानेकुरा खानाले हाम्रो स्वास्थ्य बिग्रिदै गएको छ’ प्रधानमन्त्री ओलीले भने–‘हामी काँक्राको सलाद खान्छौ तर त्यो काँक्रा के हालेर उत्पादन गरियो भनेर कहिल्यै चासो दिदैनौ । हरेक खानेकुरामा यस्तै अवस्था छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको पुरानो र नयाँ पुस्ताको बीचको स्वास्थ्य अवस्थामा अन्तर रहेको बताए । आफ्नै स्वास्थ्य अवस्थाको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले भने,–‘मेरी हजुर आमा औषधी नखाएर सय वर्ष बढि बाँच्नुभयो म भने १२ वर्षदेखि किड्नी ट्रान्सप्लान्ट गरेर बाँचिरहेको छु । औषधी संगै बोकेर हिड्नु परिरहेको छ । ’

प्रधानमन्त्री ओलीले नेपालीहरु बिरामी भएर अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउन आर्गनिक खानेकुरा उत्पादनमा नीजिक्षेत्र लाग्नुपर्ने र त्यसलाई सरकारले प्रोत्साहन गर्ने बताए । स्वास्थ्य र सन्तुलित खानेकुरा भए नभएको बिषयमा सबै सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओलीले सचेत गराए ।  कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बाँके जिल्लालाई औद्योगिक हबका रुपमा विकास गर्न कसैले नरोक्ने बताए । उनले बाँके कहिल्यै पछि नपर्ने पनि बताए ।

प्रकाशित मितिः     ३ बैशाख २०७६, मंगलवार १८:३८  |