नेपालगन्ज नाकाबाट भन्सार छलेर काठमाण्डौं पुगेको बस प्रहरी नियन्त्रण


बसको स्केचमात्र ।

नेपालगन्ज, ४ बैशाख : नेपालगन्ज नाकाबाट भन्सार छलेका सामान सहित काठमाण्डौं पुगेको एउटा बसलाई प्रहरीले गत चैत ३० गते नियन्त्रणमा लिएको खुलेको छ । भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै काठमाडौं आएको ना.५ ख. ४८४२ नं.को यात्रुवाहक बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त बसलाई भन्सार छली तस्करीका सामानहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटी गएको प्रहरी टोलीले काठमाण्डौं महानगरपालिका वडा नं.१५ चमतीबाट नियन्त्रणमा लिएको हो ।उक्त बसलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा राजश्व छली गरी ल्याइएको लत्ता कपडा बरामद भएको र उक्त राजश्व छली गरी ल्याइएका सामान छुटाउने प्रयोजनका लागि प्रहरीलाई घुस दिन खोज्नेहरु पक्राउ परेका छन् । सो गाडीका चालक श्याम बिश्वकर्माले तीन लाख, दिपा राना र भरत तामाङले ५० हजार गरी जम्मा तीन लाख पचास हजार घुस रकम दिन खोजेका थिए ।


उक्त घुस दिन ल्याएको रकमसहित निजहरु गाडी चालक श्याम बिश्वकर्मा, दिपा राना र भरत तामाङलाई नियन्त्रणमा लिई बैशाख २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा बुझाईएको छ । ती व्यक्तिहरु दाखिला हुन आएको हुँदा थप अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । उक्त बसले भन्सार छलीको कुन समान र कति परिमाणको सामान ल्याएको थियो भन्ने खुलेको छैन ।

प्रकाशित मितिः     ४ बैशाख २०७६, बुधबार १५:५०  |
error: Content is protected !!