बाँकेको जानकी गाउँपालिकामा थपिए दुई स्टील उद्योग, ५ अर्व लगानी


नेपालगन्ज ५ बैशाख : बाँके जिल्लामा नयाँ दुईवटा स्टील्स उद्योगमा ५ अर्ब बढि लगानी भित्रिएको छ । देशकै प्रतिष्ठित औद्योगिक समूह जय अम्बे स्टील्स प्रालिले निकट भविष्यमा उत्पादन शुरु गर्ने गरी बाँकेको जानकी गाउँपालिकामा उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ । चुक्ता पुँजी रु ४ अर्व १४ करोडमा जय अम्बेले स्टील उद्योग खोल्न लागेको हो । रुपन्देही पछि बाँके जिल्लामा अम्बेले दोस्रो स्टील्स उद्योगमा लगानी बिस्तार गरेको उद्योग बिभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा भित्रिएका उद्योग मध्ये सबैभन्दा ठुलो उद्योग जय अम्बे स्टील्स् नै हो । उसले पूर्णरुपमा उत्पादन शुरु गरे ३ सय ६० जना रोजगारी पाउने छन् ।अम्बेले बाँकेमा उद्योग सन्चालनका लागि उद्योग बिभागबाट २०७४ असोज २ गते स्वीकृती पाएको थियो । स्वीकृती पाएपछि पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । ‘अवको केही महिनामै पुर्वाधार निर्माणको काम सकिन्छ । त्यसपछि यहीबाट जय अम्बेको स्टील्स् ब्राण्डहरु उत्पादन शुरु हुन्छ ।’– उद्योग स्रोतले भन्यो ।अम्बेले टिएमडी छड, बिभिन्न वायरहरु उत्पादन गर्दै आएको छ ।
पश्चिम क्षेत्रको बजारलाई लक्षित गरी बाँकेमा स्टील उद्योग खोल्ने क्रम बढेको छ । सगरमाथा स्टील उद्योगले त परिक्षण उत्पादन समेत शुरु गरिसकेको छ । यहाँ नै स्टील उत्पादन हुनेपछि ग्राहकहरुले सस्तो मुल्यम पाउने अपेक्षा गरेका छन् । ढुवानी लागत कम हुने छ भने सेवाग्राहीलाई यसले राहात दिने अपेक्षा गरिएको छ ।  पश्चिम क्षेत्रको बजारलाई हेरेर जय अम्बेले बाँकेमा उद्योग सन्चालन गर्नु अत्यन्त खुसीको कुरा भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । लगानी बिस्तारसंगै व्यवसायीक सुनिश्चित गर्न राज्यपक्ष लाग्नुपर्ने उनले जोडदार माग गरे । बैश्यले भने,–‘बाँकेमा लगानीकर्ताहरुको आर्कषण देखिएको छ । अब हामी सबै मिलेर उद्योगमैत्री वातावरण बनाउन तर्फ लाग्नुपर्छ ।’
बाँकेको खजुरामा सगरमाथा स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । उद्योगले पहिलो चरणमा जिआइ वायर (फलामे तार) उत्पादन गर्दै परीक्षण उत्पादन शुरु गरेको छ । वार्षिक २५ हजार टन उत्पादन क्षमता रहेको यो उद्योगले जिआई वायर, बार्ब्ड वायर (काँडेतार) र रिब्ड वायर (टोरकारी) उत्पादन गर्ने छ । यहाँको बजारमा पूर्वका उद्योगबाट फलामे उत्पादन आपूर्तिको हुँदै आएको छ,उनले भने, यहाँसम्म ल्याई पुर्याउँदा किलो मै साढे दुई रुपैयाँदेखि ३ रुपैयाँसम्म ढुवानी भाडाको भार थपिन्छ । स्थानीयस्तरमै उत्पादन गर्दा हामीले ढुवानी भाडाको प्रतिस्पर्धी लाभ पाउँछौ।’

बाँकेको जानकी गाउँपालिका ६ खजुराखुर्दमा करिब सात बिघा क्षेत्रफलमा डेढवर्ष अघि यो उद्योगको निर्माण कार्य शुरु भएको थियो । स्थिर सम्पतिमा २५ करोड रुपैयाँ सहित कूल ८० करोड रुपैयाँ लगानीमा यो उद्योग संचालनमा ल्याउन लागिएको हो । यो उद्योगमा भैरहवाको सिद्धार्थ हार्डवेयर, झापाको साहेवाला समूह र नेपालगजको आनन्द हार्डवेयरको संयुक्त लगानी रहेको छ । सिद्धार्थ हार्डवेयर समूहले सिद्धार्थ ब्राण्डमा पश्चिम नेपालको प्रमुख बजारमा हार्डवेयरको थोक बिक्री केन्द्र संचालन गर्दै आएको छ । साहेवाला समूहले झापामा मेगा सिमेन्ट उद्योग संचालन गरिरहेको छ ।

प्रकाशित मितिः     ७ बैशाख २०७६, शनिबार ०८:५३  |