२ बर्षमा जीवन बीमा कम्पनीमा २६ सय नयाँ कर्मचारी नियुक्त


काठमाडौं। नयाँलाई लाइसेन्स दिएपछि जीवन बीमा कम्पनीमा २६ सय जना नयाँ कर्मचारी थपिएका छन्। सरकारको निर्देशनमा बीमा समितिले २०७४ मा १० जीवन बीमा कम्पनीलाई व्यावसाय सञ्चालनका लागि अनुमति प्रदान गरेको थियो। १० कम्पनी एकैपटक आएपछि २६ सय जनाले रोजगारी पाएका हुन्। प्राविधिक कर्मचारीका लागि पुराना बीमा कम्पनीहरुबाट लगेपनि अधिकांस बीमा कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गरेका हुन्। कतिपय बीमा कम्पनीले ठूला पदमा बैंकहरुबाट समेत कर्मचारी लगेका छन्।

तल्लो तहका कर्मचारीका लागि खासै समस्या नभए पनि उच्च व्यवस्थापकीय तहका कर्मचारिका लागि भने अझै पनि समस्या देखिँदै आएको छ। अहिले पनि कतिपय कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेका छैनन्।

पूँजी बृद्धि
रोजगारीसँगै पूँजी पनि बृद्धि भएको छ। नयाँलाई लाइसेन्ससँगै पुरानाको पूँजी बृद्धि गर्दा बीमा क्षेत्रमा २० अर्ब रुपैयाँ थपिएको छ।
नयाँ आएका जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ हुनु पर्ने व्यवस्था छ। साधारण शेयर जारीपछि पूँजी २ अर्ब पुग्छ। नयाँ जीवन बीमा कम्पनीले आगामी वर्ष प्राथमिक शेयर निष्काशन गर्न पाउने छन्।

लगानी बृद्धि
जीवन बीमा कम्पनीको लगानी ७७ प्रतिशतले बृद्धि भएको छ। गत फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले दुई खर्ब २४ अर्ब रुपैयाँको लगानी गरेका छन्। नयाँ कम्पनी आउनु अगाडि ८ वटा जीवन बीमा कम्पनीहरुले एक खर्ब २६ अर्ब रुपैयाँको लगानी गरेका थिए।

बीमा समितिले चालु आर्थिक वर्षदेखि लगानी निर्देशिका मार्फत लगानीको दायरा फराकिलो पारिदिएको छ। यसले गर्दा बीमा कम्पनीहरुले घर जग्गा, शेयर बजार जस्ता क्षेत्रमा लगानी विस्तार गर्न पाउने छन्।

अभिकर्ता बढे
नयाँ जीवन बीमा कम्पनी आएसँगै कर्मचारी तथा अभिकर्ताको अभाव हुने बताइए पनि अभिकर्ताको संख्या ७७ प्रतिशतले बढेको छ। २०७४ असारमा जीवन बीमा कम्पनीहरुमा दुई लाख ६७ हजार अभिकर्ता थिए। नयाँ जीवन बीमा कम्पनी थपिएसँगै गत फागुनसम्ममा अभिकर्ताको संख्या ४ लाख ७३ हजार नाघेका छन्।

बीमाको पहुँच पनि ७ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँई बताउँछन्। नयाँ कम्पनी आएसँगै नयाँ तथा पुरानाले शाखा विस्तार गर्ने क्रममा १४६४ शाखा कार्यालय पुगेको छ। २०७४ असारसम्ममा जीवन बीमा कम्पनीको शाखा कार्यालय जम्मा ६०० वटा मात्रै थियो। नेपालको बीमाको पहुँच अझै पनि ८७ प्रतिशत बाँकी छ। यसले गर्दा नयाँ तथा पुराना जीवन बीमा कम्पनी आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेका छन्। नेपालको बीमा व्यवसायको इतिहास ५० वर्षभन्दा लामो छ। तर यस अवधिमा बीमाको पहुँच जम्मा ७ प्रतिशत मात्रै रहेको थियो।

प्रकाशित मितिः     ६ बैशाख २०७६, शुक्रबार १३:०५  |