नेपालगन्ज, ५ बैशाख : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका क्रममा ओलम्पिक टर्च नेपालगन्ज निवासी ओलम्पियन सुरेन्द्र हमालले बाल्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा हुने भब्य उद्घाटनको क्रममा ७ : १५ मिनेटमा ओलम्पियन हमालले ओलम्पिक टर्च बाल्ने कार्यक्रम तय भएको छ ।
को हुन हमाल ? थाहा पाउनुहोस्

ओलम्पियन सुरेन्द्र हमाल खेलकुद, राजनीति र समाजसेवाका सक्रिय छन् । बाँके प्रदेश सभा—२ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन । नेपालगन्जको घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रणेन्द्र हमाल(भाईराजा) का राईलो भाई हुन् । उनी १३ वर्षको कलिलो उमेरमै खेलकुद क्षेत्रमा प्रवेश गरे, खेलकुदसँगै बिद्यार्थी राजनीतिमा पनि होमिए । खेलकुदमा संघर्ष गर्दाको परिणाम स्वरुप २०३२ सालमा पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर हमालले पाए । उनको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो ।
त्यसपछि हमालको ध्यान भारत्तोलन खेलतर्फ मोडियो । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता (२०३८) मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता (२०४०) मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान(२०४१) मा वेष्ट लिफ्टर भए ।
सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप(२०४१) मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए । हमालले २०४५ देखि २०४७ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद(सन् १९८२), लास्एन्जेल्स ओलम्पिक(सन् १९८४) र एशियन गेम बेजिङ(सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधी पाएका थिए । राखेपको कोषाध्यक्ष समेत भइसकेका हमाल राजनीति, खेल वा समाजसेवा जुनसुकै क्षेत्रमा इमानका प्रतिक मानिन्छ । शालिन र भद्र स्वभावका हमाल नेपालगन्जमा सबैका प्रिय छन् ।