बीमा गर्दै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा


बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । समाजमा विपत्ति तथा जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ ।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम हो बीमा । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । त्यसैले बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो ।

जोखिम न्युनिकरण हेतु बीमा गर्न इच्छा भएका व्यक्तिहरुलाई बीमा कसरी गर्ने भन्ने जिज्ञासा हुन सक्छ । बीमा गर्नुभन्दा पहिला हरेक मानिसले बीमा बारेमा बुझ्न जरुरी छ । बीमा गर्न भन्दा पहिला बीमाको बारेमा थाहा भएन भने पछि दावी भुक्तानीको समयमा अप्ठ्यारो पर्न सक्छ । त्यसकारण बीमा गर्नुभन्दा पहिला बीमा समितिले निर्दिष्ट गरेका कुराहरुलाई ध्यान दिन जरुरी छ ।

बीमा गर्नुभन्दा पहिला ध्यान दिनपर्ने कुराहरु
– प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु स्पष्टसँग खुलाई भर्नुपर्दछ ।
– बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधा बारे जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
– बीमितले आफ्नो आवश्यकता, पेशा, व्यवसाय एंव आम्दानीको स्रोत समेत लाई मध्यनजर गरी बीमा गर्नुपर्छ । अन्यथा समयावधि पूरा नहुँदै बीमाालेखलाई निरन्तरता दिन नसकिने हुन सक्दछ ।
– बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नविकरण गर्ने समय, इच्छाइएका व्यक्तिको नाम, बीमालेख बमोजिम दाबी रकम पाउने र नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नु पर्दछ ।
– बीमितले बीमा शुल्क बुझाएपछि यसको आधिकारीक भर्पाइ वा रसिद लिनुपर्दछ ।
– बीमा सम्बन्धि प्रस्ताव फारम बीमित स्वंयमले भर्नुपर्दछ । बीमित निरक्षर वा प्रस्ताव फारम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्दछ ।
– बीमितले आफुले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।
– बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमै बीमालेख नवीकरण गर्नुपर्दछ ।
– बीमा सम्बन्धि नीति नियमहरुबारे जानकारी राख्नु पर्दछ ।
– आफुले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ ।
– प्रविधिको विकाससँग बिभिन्न बैंक तथा एसएमएस वा अन्य विद्युतिय भुक्तानी सेवा मार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको नहुँदा सो सम्बन्धि यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
– बीमा गरिसकेपछि आफुले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छाइएको व्यक्तिलाई जानकारी गराउनुपर्छ ।

प्रकाशित मितिः     १० बैशाख २०७६, मंगलवार ०७:०३  |