बाँकेमा डिडिसीको दुधले बजार पाएन, गुणस्तरहिन दुधले ओझेलमा पारेको दावी


नेपालगन्ज, १५ बैशाख : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले संकलन गरेको दुध बाँके जिल्लामा लक्ष्य भन्दा निकै कम बिक्री भएको छ । चालु आर्थिक वर्ष २०७५र२०७६ को चैत मसान्तसम्म संस्थानले बाँकेमा ४ लाख ८४ हजार लिटर दुध बेच्ने लक्ष्य लिएको थियो । तर जम्मा १ लाख ७२ हजार लिटर मात्र बाँकेको स्थानीय बजारमा बिक्री भयो ।

‘यहाँ अपेक्षा गरिएको भन्दा धेरै कम दुध बिक्री भएको छ । यसका थुप्रै कारण छन्’– डिडिसी कोहलपुर आयोजनाका प्रमुख परमेश्वर चौधरीले भने । देशकै ठुलो मध्येको एक नेपालगन्ज र कोहलपुर जस्ता शहर भएको बाँकेमा डिडिसी जस्तो सरकारी स्वामित्व भएको संस्थाले संकलन गरेको दुधले बजार लिने अपेक्षा गरेपनि त्यसो हुन सकिरहेको छैन् । यसको मुख्य कारण सीमापारी भारतबाट आउने अवैध दुध मुख्य कारण रहेको चौधरीले बताए । उनले भने,–‘उताबाट घर घरमा आउने गुणस्तरहिन दुध सस्तोमा पाईन्छ । हाम्रा उपभोक्ताहरुले त्यही खरिद गर्नुहुन्छ । यो कारणले गर्दा पनि हामीलाई धेरै नोक्सानी भएको छ ।’ सरकार पछिल्लो समय यसरी सीमापारीबाट आउने दुध नियन्त्रणमा लिन सुरु गरेको छ ।


बाँकेमा डिडिसीको दुध बिक्री नहुनेको अर्को कारण भनेको प्रभावकारी मार्केटिङ्ग नहुनु र नीजि दुध डेरी जस्तो तत्काल मुल्य समायोजन गर्न नसक्नु । गुणस्तर भएका कारण डिडिसीले बिक्री गर्ने दुध अरु भन्दा केही महङ्गो छ । स्थानीय बजारको आवश्यकता अनुसार डिडिसीले तत्काल मूल्य तलमाथि गर्न सक्दैन । त्यसका लागि सरकारकै निर्णय पर्खिनुपर्छ । उपभोक्तालाई डिडिसीले थोरै महङ्गो भएपनि गुणस्तर छ भन्ने बुझाउन सकेको छैन । यस सम्बन्धमा चौधरीले भने–‘ उत्पादको गुणस्तरको हिसावले हामी उत्कृष्ट छौं तर नीजि जस्तो भएर काम गर्न नसकिने भएकाले यहाँ बजार बिस्तार हुन सकिरहेको छैन ।’


दुग्ध विकास संस्थान कोहलपुरले बाँके, बर्दिया, सुर्खेत, कोहलपुरको दुध संकलन गर्दै आएको छ । उसले चालु आर्थिक वर्षको चैतसम्म २१ लाख लिटर दुध संकलन गरेको थियो । तर बाँकेमा १ लाख ७२ हजार लिटर मात्र बिक्यो । नेपालगन्जमा दैनिक ५ सय लिटर मात्र बिक्री हुन्छ भने कोहलपुर डेढ सय लिटर । बाँकी जम्मै दुध राजधानी काठमाण्डौंमा पठाउने गरेको छ । कोहलपुरबाट काठमाण्डौं दुध पठाउँदा एक लिटर दुधमा झण्डै ७ रुपैया भाडा लाग्ने गरेको छ । आयोजना प्रमुख चौधरीले भने,–‘स्थानीय हजारमा उपभोक्ता बढाउने गरी केह िकाम गर्ने साेंचिरहेका छौं ।’

प्रकाशित मितिः     १६ बैशाख २०७६, सोमबार ११:०९  |