नेपालगन्ज १८ बैशाख : नेपालगन्ज– रुपैडिहा नाका लक्षित एकिकृत भन्सार जाँच चौकी ( आईसिपी) को काम शिलान्यास भएको तीन महिना बित्दा समेत शुरु हुने छाँटकाँट देखिएको छैन् । गत पुस ३० गते भारतका गृहमन्त्री राजनाथ सिंहले रुपैडिहामा एकिकृत भन्सार जाँच चौकी ( आईसिपी)को तामझामका साथ शिलान्यास गरेका थिए ।
दशवर्षदेखि आईसिपीको चर्चा चलेपनि काम अगाडी बढ्न नसकेका बेला भारतीय गृहमन्त्री आफै आएर शिलान्यास गरेपछि नेपालगन्ज र रुपैडिहाका उद्योगी, व्यवसायी हर्षित थिए । तर शिलान्यास भएको अढाई महिना पछि पनि आईसिपी निर्माणको काम जहाँको त्यही छ । शिलान्यास हुँदा लगाएको तारवार र पर्खाल बाहेक अन्य कुनै प्रगति भएको देखिएन । नेपाल र भारतले संयुक्तरुपमा मिलेर एकिकृत भन्सार जाँचचौकी निर्माण थालेका हुन । नेपालतर्फ जग्गा अधिग्रहण गर्ने काम सकिएको छ । भारतले आफ्नो र नेपालतर्फ नै भौतिक पूर्वाधारको काम गर्न बाँकी छ । भारततर्फ १ सय ४२ एकड जमिनमा आईसिपी बन्दै छ । दुई अरव भारतीय रुपैया लागतमा दुई वर्षभित्र आईसिपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ ।
तर काम भने तत्काल शुरु नभएको राष्ट्रिय ब्यापार मण्डल रुपैडिहाका महासचिव रजा इमाम रजवीले बताए । उनले भने,–‘सुरुवात सुस्त देखिएको छ । आगामी दिनमा छिटो गरेर समयमै काम सक्नुपर्छ ।’ महासचिव रजवीले पश्चिम नेपाल र भारतबीचको ब्यापार सम्बन्धका लागि आईसिपी महत्वपूर्ण भएकाले छिटो भन्दा काम सम्पन्न गर्नुपर्ने बताए । भारतमा यतिबेला लोकसभा निर्वाचन भएका कारण पनि उक्त काम अगाडी बढ्न नसकेको अनुमान गरिएको छ । सम्भवत चुनावपछि कामले गति लिने महासचिव रजवीले बताए । भारत सरकारले नीजि ठेकेदार कम्पनी मार्फत आईसिपीको काम शुरु गर्दैछ । आइृसिपी शुरु भएपछि आयात र निर्यातको दुई देशिय सम्पूण काम एकिकृत प्रणालीबाट हुनेछ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आईसिपीको काम समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन् । ‘यो दुबै देशको व्यवसायीक सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण केन्द्र हो । समयमै सम्पन्न हुनेमा हामी सबै बिश्वस्त रहौं ।’– उनले भने ।
नेपालतर्फको काम सकियो ?
एकिकृत भन्सार जाँच चौकीका लागि नेपालतर्फबाट जग्गा अधिग्रहण मात्र गरे पुग्ने भएकाले त्यो काम सम्पन्न भइसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए । ‘हाम्रो काम जग्गा अधिग्रहण गरे पुग्थ्यो । त्यो काम सम्पन्न भइसकेको छ ।’ निरौलाले भने–‘भारतीय पक्षले हाम्रो तर्फपनि भौतिक पूर्वाधार निर्माण गरेर हामीलाई साँचो बुझाउने छन् ।’ नेपाल तर्फ जयसपुरक्षेत्रको १ सय ८० बिगाहक्षेत्र अधिग्रहण गरिएको छ ।