०४६ सालयता बाँकेमा ८० ठुला उद्योग दर्ता : कति खुलेनन्, कति खुलेर पनि बन्द भए


नेपालगन्ज, १८ बैशाख : २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८० वटा ठुलो लगानीका उद्योग दर्ता भएका छन् । दर्ता भएका सबै उद्योग भने यहाँ सन्चालन भएनन् ।

उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द् भनेपनि उद्योग दर्ता र सन्चालनको अवस्था भने न्युन देखिएको छ । उद्योग बिभागमा दर्ता भएका ८० वटा उद्योगमा रु १६ अर्व ८० करोड लगानीको प्रतिबद्धता थियो । त्यसमा झण्डै ७ हजार ८ सय ६५ जनाले रोजगारी पाउने उल्लेख छ । यसअवधीमा दर्ता भइ सन्चालनमा रहेका उद्योगले लगानी थप गरेका छन् भने रोजगारी पनि बृद्धि गरेको पाईन्छ ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार रु १० करोड भन्दा बढि लगानीका उद्योग उद्योग बिभागमा दर्ता हुनुपर्छ । उक्त ऐन कार्यान्वयन हुनु भन्दा पहिले लगानीको सीमा कम थियो । बाँकेमा २०४६ यता सबैभन्दा पहिले नेपालगन्ज नर्सिङ्ग होम उद्योग बिभागमा दर्ता भएको पाईन्छ । नर्सिङ्ग होम २०४८ साल असोज २ गते बिभागमा दर्ता भएको थियो भने लगानी रु ३४ लाख उल्लेख गरेको थियो । नेपालगन्ज नर्सिङ्ग होम दर्ता भएयता ७९ उद्योग बिभागमा दर्ता भए ।

दर्ता भएका मध्ये खाद्य उद्योग धेरै प्रभावित भए । सन्चालनमा आएर पनि ती उद्योगहरु बन्द भएका छन् । धानको उत्पादन बढि भएका बेला खुलेका खाद्य उद्योग धानको उत्पादन घटेसंगै बन्द भए । अन्य होटलसंग जोडिएका उद्योग पनि दर्ता भएर पनि सन्चालन हुन सकेनन् । बाँकेमा २०६२÷२०६३ को आन्दोलनयता ठुलो उद्योग दर्ता हुने क्रम बढेको देखिन्छ । पछिल्लो समय सिमेन्टदेखि स्टिल उत्पादन गर्ने उद्योगमा अत्याधिक लगानी भएको उद्योग बिभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मितिः     १८ बैशाख २०७६, बुधबार ११:४५  |