बाँकेमा उत्पादनमूलक, बर्दियामा पर्यटन उद्योगको संख्या धेरै


नेपालगन्ज, १८ बैशाख : बाँकेमा उत्पादनमूलक र बर्दियामा पर्यटन उद्योगको क्षेत्रमा सबैभन्दा बढि लगानी भएको छ । लगानीकर्ताले यि दुई जिल्लामा अन्य क्षेत्र भन्दा उत्पादनका क्षेत्रमा सबैभन्दा धेरे लगानी गरेको उद्योग बिभागका सूचना अधिकारी जीवनराज सेढाईले जानकारी दिए ।

२०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी रु १६ अरव ८० करोड लगानीको प्रतिवद्धता सहित ८० वटा ठुलो लगानीका उद्योग दर्ता भएका छन् । दर्ता भएका सबै उद्योग भने यहाँ सन्चालन भएनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् ।

यि मध्ये बाँकेमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ५६ वटा उद्योग दर्ता भएका थिए । जसमा रु १० अर्व लगानी भित्रिएको छ । उत्पादनमूलक क्षेत्रमा सिमेन्ट उद्योगदेखि छड उद्योगसम्म रहेका छन् । बाँकेमा उत्पादनमुलक क्षेत्र पछि सेवाक्षेत्रमा १८ वटा, पर्यटनक्षेत्रमा १०, कृषिमा ३ र खनिज क्षेत्रमा एक वटा उद्योग दर्ता भएका छन् । बर्दियामा हालसम्म उद्योग बिभागमा दर्ता भएका २२ उद्योगमा पर्यटनक्षेत्रमा मात्र १४ उद्योेग रहेका छन् । बर्दियामा हालसम्म दुई अर्व लगानीको प्रतिवद्धता सहितका उद्योग दर्ता भएकोमा पर्यटनक्षेत्रमा १४ उद्योगमा रु ३१ करोड लगानी भएको छ । बर्दियामा उत्पादनमूलकक्षेत्रका उद्योगको संख्या ५ वटा मात्र रहेको छ । बर्दिया राष्टिय निकुन्ज लगायतका पर्यटकीयक्षेत्र भएकाले बर्दियामा पर्यटन उद्योगमा लगानी बढ्दै छ ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार रु १० करोड भन्दा बढि लगानीका उद्योग उद्योग बिभागमा दर्ता हुनुपर्छ । उक्त ऐन कार्यान्वयन हुनु भन्दा पहिले लगानीको सीमा कम थियो । दर्ता भई सन्चालनमा रहेका बाँके र बर्दियाका उद्योगहरुले लागत समेत बृद्धि गरेका छन् ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १२:०७  |