आईसिपी सन्चालन पछि जमुनाह नाका यात्रुको आवत–जावतमा सीमित हुने


नेपालगन्ज,१९ बैशाख :  एकिकृत भन्सार जाँचचौकी (आईसिपी) बनेपछि जमुनाह नाकाको भविष्य के हुन्छ ? अहिले धेरैको जिज्ञासाको बिषय बनेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले आईसिपी बनेर कार्यान्वयनमा आउने बित्तिकै हालको जमुनाह नाकाबाट ठुला मालबहाक सवारीसाधन नआउने स्पष्ट पारे ।

उनले भने,–‘आयात र निर्यातका लागि यो नाकाबाट कुनै पनि ठुला सवारीसाधन आउँदैनन् । तर यात्रुहरुको हिडडुल र साईकलसम्म आउन जान दिने सम्भावना रहन्छ ।’–भन्सार प्रमुख निरौलाले भने । उनले यो भन्सार नाका बन्द नै भइहाल्ने अवस्था नआउने बताए । स्रोतका अनुसार आईसिपीमा यात्रु बोक्ने सवारीसाधन आवातजावत गराउने गरी काम गर्नेकी भन्ने बिषयमा पनि छलफल भएको छ । तर भारतीय पक्षबाट यसको निर्माणको काम भइरहेले यस बिषयमा त्यसको पुष्टि भइसकेको छैन । त्यो भयो भने हालको जमुनाह नाकामा यात्रु आवातजावत समेत नहुन सक्छ ।

आईसिपी सन्चालन पछि के हुने हो भन्ने बिषयमा नेपाली उपभोक्तामा निर्भर सीमावर्ती बजार रुपैडिया बिस्थापनको चिन्ता छ । मुख्यबजार रुपैडियादेखि झण्डै दुईकिलोमिटरको दुरीमा पश्चिमतर्फ नेपालगन्ज–रुपैडिया आईसिपी बन्दै छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत पुस महिनामा भारतीय गृहमन्त्री राजनाथसिंहले उक्त आईसिपीको शिलान्यास गरेका थिए । नेपाल तर्फ जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ ।


योजना अनुसार काम सम्पन्न भए अबको दुई वर्षभित्र जमुनाह भन्सार नाका हुँदै हुने आयात निर्यातको सम्पूर्ण काम एकिकृतरुपमा आईसिपीबाटै हुनेछ । त्यस्तो अवस्थामा जमुनाह नाका के हुने हो भन्ने बिषयमा रुपैडियाका व्यापारीमाझ बहस हुने गरेको छ । आईसिपी सन्चालन पछि जमुनाह नाका लक्षित नेपाल र भारत तर्फ दुबै ठाउँमा रहेका भन्सार कार्यालयहरु रहन्छ की रहँदैनन् ? सम्बन्धित निकायबाट यस बिषयमा कुनै स्पष्ट जानकारी नदिएपनि रुपैडियाका ब्यापारीहरु भने जमुनाह नाकाबाट आयात निर्यात नहुनेमा स्पष्ट छन् ।

रुपैडियाबाट नेपाली उपभोक्ता ।

‘सरकारी अधिकारीहरुले अनौपचारिक कुराकानीमा एउटै नाका दुईवटा भन्सार कार्यालय हुँदैन भनेका छन्’ राष्ट्रिय ब्यापार मण्डल रुपैडियाका महासचिव रजा इमा रजवीले भने,–‘आईसिपी बनिसकेपछि जमुनाह नाकाबाट आयात निर्यातका लागि भन्सार बस्छ जस्तो लाग्दैन ।’ दैनिक आवातजावत जस्ता कार्य नियमितरुपमा हुने भएपनि जमुनाह नाकाबाट आयात निर्यात नहुने अवस्था आए रुपैडियालाई त्यसले प्रत्यक्ष मार पार्न सक्ने त्यहाँका व्यवसायीको बुझाई छ ।

निर्मााधिन आईसिपी ।

रुपैडिया बजार नेपाली उपभोक्तामा निर्भर छ । दैनिक लाखौंको सामाग्री बिना भन्सार भित्रिन्छ । त्यसको कुनै भन्सार हुँदैन । नेपाली उपभोक्ताहरु किनमेलका लागि भारत जाने गरेका कारण नेपालगन्जको ब्यापार सुकेको यहाँका व्यवसायीहरुको गुनासो छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आईसिपी सुरु भएपछि जमुनाह नाकाबाट ठुला सामानको आयात निर्यात हुन नसक्ने बताए । उनले भने,–‘अहिले धेरे नेपाली उपभोक्ताहरुले भन्सार गर्छौ भन्दै रुपैडियाबाट सामान ल्याउने तर भन्सार नै नगर्ने गरेको पाईन्छ । जब आईसिपी शुरु हुन्छ त्यसपछि यस्तो कुराहरु रोकिन्छ जस्तो लाग्छ’– बैश्यले भने ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १३:०९  |
error: Content is protected !!